बान्नीगढीमा अध्यक्षका ‘ज्वाइँ’ले दिए कर्मचारीलाई ज्यान मार्ने धम्की
मदिराले मातेर मार्ने-काट्ने धम्की
मेयरसाप डेस्क
|
२०८२ मंसिर ८ गते ०१:४९
अछाम । नेपाली कांग्रेसबाट निर्वाचित बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदका ‘ज्वाइँ’ नाता पर्ने एक जनाले गाउँपालिकाका कर्मचारीमाथि खुलेआम ज्यान मार्ने धम्की दिएका छन् ।
आइतबार साँझ नेपाली कांग्रेस पालिका कार्यसमितिका सचिव तथा गाउँपालिका अध्यक्षका ज्वाइँ खेमराज साउँदले मदिराले लट्ठ भई गाउँपालिकाका लेखा अधिकृत अर्जुन जोशी र निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीमाथि ज्यान मार्ने धम्की दिएका हुन् ।
गाउँपालिकाको सूचना अधिकारी समेत रहेका जोशीले सुरक्षित रूपमा क्यान्टिनमा खाना खाइरहेको समयमा मदिरा सेवन गरेर गालीगलौजसहित ज्यान मार्ने धम्की दिएको बताए । उनले यस्तो असामान्य व्यवहारविरुद्ध चुप लागेर नबस्ने बताउँदै कानुनी उपचारका लागि प्रहरीमा जाहेरी दिने तयारी भइरहेको जानकारी दिए ।
‘हामी खाना खाने क्रममा उहाँ (खेमराज साउँद) आएर गाली गर्नुभयो । हाम्रो कुनै विवाद थिएन,’ लेखा अधिकृत जोशीले मेयरसाप डटकमसँग भने, ‘म निमित्त प्रमुखसँग नजिक भएकाले विशेष गरी उहाँले मलाई धम्की दिनुभयो ।’
जोशीका अनुसार, साउँदले मदिरा सेवन गरेर मुख छाड्ने र आमा–बहिनीलाई जोडेर गाली गरेका थिए । जोशीले थपे, ‘तपाईँलाई देखेको छु, तपाईँको घर पनि देखेको छु भन्नुभयो । भित्रबाट घिसारेर रोडमा फाल्छु र मार्ने–काट्ने सम्म पनि भन्नुभयो । अहिले आएर उहाँले माफी माग्नु भएको छ ।’
यो घटना हुनुभन्दा एक साताअघि मात्रै गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद स्वयमले सोही क्यान्टिनमा मदिरा सेवन गरी कर्मचारीमाथि दुर्व्यवहार गरेको विषय पनि सार्वजनिक भएको थियो ।
एक हप्ताको अन्तरालमा गाउँपालिका अध्यक्ष र उनका ज्वाइँ दुवैले राजनीतिक नेता तथा कार्यकर्ताका आडमा दादागिरी देखाएर ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन् ।
Facebook Comments