प्युठानका जनप्रतिनिधि–कर्मचारी लाइन लागेर गाउँछन् राष्ट्रिय गान अनि थाल्छन् काम
समयको ख्याल र अनुशासन बढेको निष्कर्ष
जनेश ठकुल्ला
|
२०८२ मंसिर ८ गते ०४:१७
काठमाडौं । विद्यालयमा पढ्न जाँदा नियमित रूपमा लाइन लागेर राष्ट्रिय गान गाएपछि कक्षाकोठामा प्रवेश गरेर अध्ययन–अध्यापन गरेको त तपाईँलाई अनुभव नै होला । त्यस्तै झल्को दिनेगरी प्युठान नगरपालिकाले विगत दुई वर्षदेखि सुशासन र राष्ट्रियतालाई जोड्ने भन्दै यस्तै अनौठो अभ्यास गर्दै आइरहेको छ । यो पालिकामा हरेक दिन बिहान ठिक १० बजे राष्ट्रिय गान बजाएर मात्रै नगरपालिकाको औपचारिक सेवा प्रवाह सुरू हुन्छ । यो नियमित अभ्यास अहिले प्युठान नगरपालिकाको संस्थागत पहिचान र कार्यसंस्कृतिको आधार बनेको छ ।
नेपालको स्थानीय शासन र सार्वजनिक सेवा प्रवाहमा यो फरक अभ्यास प्युठान नगरपालिकाले दुई वर्षदेखि नियमित र संस्थागत रूपमा सञ्चालन गर्दै आएको छ । स्थानीय शासनमा समयपालन, अनुशासन र राष्ट्रप्रतिको सम्मानलाई एकसाथ स्थापित गर्न यो अभ्यास लागू गरिएको पालिकाका जनप्रतिनिधि बताउँछन् । यो अभ्यासले सम्पूर्ण कर्मचारीहरूलाई एकै समयमा एकै ठाउँमा भेला गराउँदै देशप्रति सम्मान र आफ्नो दैनिक कर्तव्यप्रति प्रतिबद्धता गराउने उनीहरूको तर्क छ ।
कर्मचारीको मनोवृत्तिमा परिवर्तन
दैनिक राष्ट्रिय गान गाउने यो अभ्यास नगरपालिकाको प्राङ्गणमा सबै कर्मचारी तथा जनप्रतिनिधिहरूको उपस्थितिमा हुने गरेको छ । प्युठान नगरपालिकाको कानुन इकाई शाखामा कार्यरत कर्मचारी दीपक पौडेल भन्छन्, ‘हरेक बिहान राष्ट्रिय गानमा गोलबद्ध हुँदा व्यक्तिगत रूपमा राष्ट्रप्रति सम्मानभाव जागृत हुन्छ र हामी राष्ट्रसेवक हौँ भन्ने अनुभूति हुन्छ ।’
राष्ट्रिय गानपछि काम सुरू गर्दा दिनभरको कार्य मनोवृत्तिमा पनि केही फरक महसुस भइरहेको सुनाउने उनी अगाडि भन्छन्, ‘राष्ट्रिय गान गाएर सेवा प्रवाह सुरू गर्दा कर्मचारी र जनप्रतिनिधि नागरिकको सेवामा समर्पित हुने रहेछन् भन्ने सकारात्मक मनोभावना सेवाग्राहीमा पनि पर्छ ।’
१० बजे ठीक राष्ट्रिय गान सुरू हुने अभ्यासले गर्दा बिहानको तयारी र कार्यालय पुग्ने समयमा पनि परिवर्तन भएको उनले बताए । ‘प्रायः त हामी १० बजे नै उपस्थित हुन्थ्यौँ, तर कहिलेकाहीँ केही समय तलमाथि हुने गथ्र्यो,’ पौडेल भन्छन्, ‘आजभोलि भने जनप्रतिनिधि र कर्मचारीसँगै राष्ट्रिय गान बजाएर सेवा प्रारम्भ गर्ने हुँदा समयमै कार्यालय पुग्ने बानी बसेको छ ।’
यो अभ्यासप्रति अन्य सहकर्मीहरूको प्रतिक्रिया सकारात्मक रहेको र यसले कर्मचारीबीचको सम्बन्ध पनि मजबुत बनेको उनको भनाइ छ । नगरपालिकाको यस्तो कामले राष्ट्रियता र देशप्रति आफूले जिम्मेवारीबोध गरेको उनी बताउँछन् ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खनालका अनुसार, यो अभ्यास कुनै ‘स्पेशल’ योजना वा कसैले अनिवार्य रूपमा गर्नुपर्छ भनेको विषय होइन । ‘हामी चाहिँ पहिले राष्ट्रिय गान गाएर त्यसपछि मात्रै आफ्नो कर्मक्षेत्रमा जाने गरेका छौँ । पहिलो कुरा अनुशासन, दोस्रो कुरा कामप्रतिको भावना जाग्छ’, उनले भने ‘यसरी राष्ट्रिय गान गाएर शुभ प्रारम्भ गर्दा राष्ट्रप्रति एउटा सम्मान जागेर पनि आउँछ भनेर यो अभ्यास सुरू गरेका हौँ ।’
राष्ट्रिय गानमा सहभागी हुँदा कर्मचारीहरूले बिहान समयमै कार्यालय जानुपर्छ भन्ने मनोभावना राख्ने गरेको उनी बताउँछन् । ‘सबै कर्मचारी राष्ट्रिय गानमा एकताबद्ध भएर उपस्थित भइराख्दाखेरि कतिपय कर्मचारी ढिलो आउँदा उसले ‘‘मैले ढिलो गरेँ, भोलिबाट समयमै उपस्थित हुनुपर्छ’’ भन्ने महसुस हुन्छ,’ खनालले भने, ‘यो अभ्यासले सबै कर्मचारीहरूलाई समयमै उपस्थिति पनि गराउँछ ।’
राष्ट्रिय गान सुरू गर्नुभन्दा अगाडि र पछिको अवस्था हेर्दा कर्मचारीहरूको व्यवहारमा केही मात्रामा फरक पाइएको उनको भनाइ छ । ‘राष्ट्रिय गानमा उपस्थित हुँदाखेरि पोशाकको विषयमा सबैजना आफैँ जानकार हुनुहुन्छ । राष्ट्रिय गानमा सबैजना एकताबद्ध भइराख्दा पोशाकबिना उपस्थित हुने कर्मचारीलाई आफैँ नराम्रो महसुस हुन्छ’, उनी भन्छन्, ‘कतिपय अवस्थामा व्यक्त नगरे पनि स्थिति अनुसार आफूलाई परिमार्जन गर्न सकिन्छ ।’
यो अभ्यासलाई नियमित गर्न र दिगो बनाउनका लागि खासै त्यस्तो अप्ठ्यारो नपरेको उनले बताए । ‘कहिलेकाहीँ केही कर्मचारीहरूको काम परेको हुनसक्छ वा बिदामा पनि जानुभएको हुनसक्छ’, खनालले मेयरसाप डटकमसँग भने, ‘तैपनि नगरपालिकामा धेरैजना कर्मचारी हुने भएकाले राष्ट्रिय गानमा सहभागी हुनका लागि कर्मचारीको संख्यामा कमी चाहिँ छैन ।’
राष्ट्रिय गानले कार्यालयको काममा नियमितता र समर्पण जस्ता कुराहरूमा महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ । ‘एउटा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने ठ्याक्कै १० बजे कार्यालय समयमा हाजिर हुनुपर्छ भन्ने कुुरा सबैलाई राष्ट्रिय गानले प्रेरित गरेको छ’, खनाल भन्छन्, ‘दुई वर्षदेखि निरन्तर हामी यो अभ्यास गर्दै आएका छौँ । यसलाई दिगो बनाउनका लागि पनि हामी लागेका छौं । जहाँसम्म मलाई लाग्छ, हाम्रो यो अभ्यास निरन्तर हुनेछ, रोकिँदैन ।’
प्युठान नगरपालिकाले यो कार्यलाई क्षणिक अभियानको रूपमा नभई स्थायी कार्यसंस्कृतिको रूपमा स्थापित गरेको छ । दुई वर्षदेखि प्रत्येक कार्यदिवसमा १० बजे नै राष्ट्रिय गान बजाउने नियम लागू गरिएको छ । यसले कर्मचारीहरूलाई तोकिएको समयमै कार्यालयमा उपस्थित हुन बाध्य पारेको छ, जसको प्रभाव सेवाग्राहीको काममा पनि देखिएको नगरपालिकाको निष्कर्ष छ ।
राष्ट्रप्रतिको सम्मानले राष्ट्रिय गानको सुरूवात
नगर प्रमुख विष्णुबहादुर योगीका अनुसार यो अभ्यासको मुख्य लक्ष्य सुशासन र राष्ट्रियतालाई एकै ठाउँमा ल्याउनु हो । यो अभ्यासले नेतृत्व र कर्मचारी दुवैलाई आफूहरू एउटै राष्ट्रिय लक्ष्यमा प्रतिबद्ध छौँ भन्ने भावना जागृत गराउँछ ।
‘स्थानीय शासन नागरिकसँगको प्रत्यक्ष सम्बन्धमा उभिन्छ । त्यसैले सेवा प्रवाह सुरू हुनुअघि हामी राष्ट्रप्रतिको सम्मान, कर्तव्यप्रतिको स्मरण र अनुशासनप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न चाहन्छौं,’ नगर प्रमुख योगीले मेयरसाप डटकमसँग कुरा गर्दै भने, ‘दैनिक राष्ट्रिय गान हाम्रो संस्थागत पहिचान र कार्यसंस्कृतिको आधार बनिरहेको छ ।’
यस अभ्यासले नगरपालिका भित्रको दैनिक क्रियाकलापमा एक प्रकारको साझा प्रेरणा, जिम्मेवारीबोध र सेवा–संस्कृतिलाई सुदृढ बनाउन सहयोग पुगेको उनको भनाइ छ । देशप्रति सम्मान गर्न सिकाउने यो प्रक्रियाले कर्मचारीको संस्थागत व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको र समयपालनलाई मजबुत बनाएको योगीको दाबी छ ।
उप–मेयर देबेन्द्र बर्मा भन्छन्– ‘राष्ट्रप्रतिको माया भएपछि मात्र उत्कृष्ट कामको सुरूवात हुन्छ, भन्ने महसुस भएर यसको सुरूआत गरिएको हो ।’
बर्मा अगाडि भन्छन्, ‘हामी एक सरकार हौँ । सरकारमा भएपछि दलित, गरिब, असहाय र अपाङ्ग सबैलाई सेवा गर्न एक मिनेट कम्तीमा राष्ट्रिय गान गाएर भित्र टेबुलमा बस्यौं भने राष्ट्रप्रति सम्मान र आफ्नो कामप्रति जिम्मेवारबोध हुन्छ भन्ने उद्देश्यले यो अभ्यास सुरूवात गर्यौं ।’
सबै स्थानीय तह वा अन्य पालिकाभन्दा फरक बनाउनुभन्दा पनि यसको सुरूवात प्राविधिक वा सामाजिक क्षेत्रका कर्मचारीहरूलाई ‘सेल्फ मोटिभेटेड’ हुने र जनताको मालिक होइन, जनताको सेवक हौँ भन्ने भावना जागृत गर्नका लागि गरिएको उनको तर्क छ ।
‘यो अभ्यास सुरू भएपछि १० बज्न पाँच मिनेटअगाडि कार्यालयमा हाजिर हुनुपर्छ भन्ने एउटा भावना जागृत भयो’, उपमेयर बर्माले भने, ‘कर्मचारीहरू सेवाग्राहीप्रति उत्तरदायी भएका छन् र राष्ट्रिय गानले कर्मचारीले लिएको शपथलाई अझै सशक्त बनाइदिएको छ ।’
‘राष्ट्रिय गान राष्ट्रप्रति प्रेम जगाउनका लागि नेपाल सरकारले बनाएको हो’, उप–मेयर बर्माले अगाडि भने, ‘राष्ट्रिय गानमा जे शब्दहरू छन्, ती शब्दहरूले प्रत्येक नागरिकलाई उत्प्रेरित गर्छ । प्रत्येक सरकारी कार्यालयमा हरेक दिन १० बजे राष्ट्रिय गान गाएर सेवा सुरू गर्दा राम्रो हुन्छ ।’
नगरपालिकाको नेतृत्वले यो अभ्यासलाई अनुशासन कायम गर्ने माध्यमका रूपमा मात्र लिएको छैन, यसलाई नगरपालिकाको संस्थागत पहिचान र विशिष्ट कार्यसंस्कृतिको आधारको रूपमा व्याख्या गरिएको छ । हरेक दिन राष्ट्रिय गान गाउनुले कर्मचारी र जनप्रतिनिधि दुवैलाई सामूहिक राष्ट्रिय लक्ष्यप्रति वफादार रहन र आफ्नो जिम्मेवारीलाई उच्च नैतिक मापदण्डका साथ निर्वाह गर्न प्रेरित गरेको उप–मेयर बर्माले बताए ।
सरकारी कार्यालयहरूमा समयपालन र अनुशासनको विषयमा उठ्ने गरेका प्रश्नहरूका बीच प्युठान नगरपालिकाको यो अभ्यास आफैँमा महत्त्वपूर्ण उदाहरण बन्न पुगेको छ । नियमित समयपालनका कारण सेवाग्राहीहरूले पनि पहिलेको तुलनामा सेवामा सहजता र कर्मचारीको कार्यशैलीमा सुधार आएको प्रत्यक्ष अनुभूति गर्ने अवस्था सिर्जना भइरहेको नगरपालिकाले जनाएको छ ।
प्युठान नगरपालिकाको यस्तो अभ्यास अन्य स्थानीय तह तथा सरकारी निकायहरूका लागि पनि सुशासन र राष्ट्रियताको भावनालाई कार्यस्थलमा जोड्ने एउटा महत्त्वपूर्ण र प्रेरणादायी मोडल बन्न सक्छ । यसले स्थानीय शासनको माध्यमबाट राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा उतार्ने सन्देश पनि दिएको छ ।
Facebook Comments