हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न सुरु, १८ महिनाभित्र सम्पन्न हुने
नगरप्रमुख राई र उपप्रमुख राउतद्वारा शिलान्यास
मेयरसाप डेस्क
|
२०८२ मंसिर ९ गते १९:११
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्न सुरु गरेको छ । यसका लागि सहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा पाँच करोड ८७ लाख १८ हजार १३० बजेट व्यवस्था गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए ।
वडा नम्बर ५ दुर्छिमस्थित छापडाँडामा निर्माण गरिएको ट्रस भवनमार्फत सेवा प्रवाह गर्दै आएको थियो । निर्माण कम्पनीले प्रशासनिक भवन १८ महिनाभित्र सम्पन्न गर्नेगरी काम सुरु गरेको हो ।
स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गामा निर्माण सुरु गरिएको प्रशासनिक भवन निर्माणका लागि नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले शनिबार औपचारिक रूपमा शिलान्यास गरेका हुन् । नगरप्रमुख राईले नगरपालिकाको प्रशासनिक भवन निर्माण योजनालाई नगरको दीर्घकालीन विकासतर्फको महत्त्वपूर्ण कदम मानिएको बताइन् ।
नगरपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि स्थानीयबासी पदमराज राई, भगशेर राई, मोहनबहादुर राई र डिकशेर राईले एक करोडभन्दा बढी मूल्य पर्ने १२ रोपनी निःशुल्क जग्गा दिएका हुन्।
दश स्थानीय तह रहेको जिल्लामा यो (हलेसी तुवाचुङ नगरपालिका)सँगै सबै स्थानीय तहको आ–आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन हुने भएको छ ।
Facebook Comments