बुर्का लगाएर ‘स्टन्ट’ गरेपछि अस्ट्रेलियाली सिनेटर निलम्बित
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते १७:२०
एजेन्सी । अस्ट्रेलियाको सिनेटले आप्रवासन विरोधी वान नेशनल पार्टीकी सिनेटर पाउलिन हान्सनलाई सार्वजनिक स्थलमा बुर्का प्रतिबन्धको माग गर्दै संसद्मा बुर्का लगाएर ‘राजनीतिक स्टन्ट’ गरेको आरोपमा निलम्बन गरेको छ ।
हान्सनले सोमबार सिनेटमा बुर्का लगाएर प्रदर्शन गरेकी थिइन्, जुन उनले सन् २०१७ मा पनि गरेकी थिइन् । सिनेटले उनीमाथिको निन्दा प्रस्ताव ५५–५ मतले पारित गरेपछि सात दिनका लागि निलम्बन गरिएको हो ।
विदेशमन्त्री तथा सिनेटर पेन्नी वोङले यस कार्यलाई अपरिपक्व र लज्जाहिन स्टन्ट बताउँदै यसले सिंगो इस्लाम समुदायको आस्थामाथि खेलवाड गरेको टिप्पणी गरेकी छिन् ।
पाकिस्तानमा जन्मिएकी सिनेटर मेहरुन फारुकीले हान्सनले मुस्लिमहरूको भावनामाथि बारम्बार खेलवाड गरेको बताइन् ।
दशकौंदेखि आप्रवासन र मुस्लिम समुदायविरुद्ध अभियान चलाउँदै आएकी ७१ वर्षीया हान्सनले आफ्नो निलम्बनको फैसला आगामी चुनावले गर्ने बताएकी छिन् ।

Facebook Comments