‘आन्दोलनमा जाँदैमा मरिँदैन’ भन्ने दीपकको अधुरै रह्यो कोरिया जाने सपना
जेन–जी आन्दोलनमा अस्तायाे दीपकको सपना
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते १७:२०
काठमाडौं । बैतडीको शिवनाथ गाउँपालिका–२, मडैगाउँका १८ वर्षीय दीपकबहादुर साउदको सपना थियो— कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने ।
तर, उनको त्यो सपना गत भदौ २४ गते काठमाडौंको कालीमाटी क्षेत्रमा भएको जेन–जी आन्दोलनका क्रममा सदाका लागि रोकियो । प्रहरीको गोली लागेर आँखामा चोट पुगी मस्तिष्कमा असर गर्दा ‘ब्रेइन डेड’ भएर उनको मृत्यु भयो ।
आमाको अन्तिम संवाद
आमा लक्ष्मी साउदले भदौ २३ गते साँझ देशभर युवाको मृत्युको खबर सुनेपछि छोरालाई आन्दोलनमा नजान र घर फर्किन अनुरोध गरेकी थिइन् । तर, दीपकले जवाफ फर्काएका थिए, ‘यदि मेरा साथीहरू जान्छन् भने म पनि जानेछु । यसमा मलाई नरोक्नु आमा । आन्दोलनमा जाँदैमा मरिन्छ भन्ने पनि होइन ।’
आमा लक्ष्मीका आँखा अझै रसाएका छन्, उनी भन्छिन्, ‘मैले भनेको मानेको भए सायद मेरो छोरो हामीसँगै हुन्थ्यो होला ।’
तोडियो आशा र भरोसा
कोरियन भाषा अध्ययनका लागि कीर्तिपुरमा कोठा लिएर बसेका दीपकसँग भदौ २४ गते बेलुकीदेखि मोबाइल सम्पर्क टुटेको भाउजू सरस्वती साउद बताउँछिन् । भदौ २५ गते बिहान अप्रत्याशित रूपमा उनको निधनको खबर आयो । भाउजू सरस्वतीले भनिन्, ‘त्यो खबरले घरको आशा र भरोसा दुवै तोडिदियो ।’
पढाइमा मेहनती दीपकको मृत्युको खबर पाएर मुम्बईमा रोजगारी गरिरहेका जेठा दाजु वीरेन्द्र काठमाडौं आए । चिकित्सकले आँखामा गोली लागेर ‘ब्रेइन डेड’ भएको बताएपछि वीरेन्द्रले भाइको शव ट्रमा सेन्टरमा बुझेका थिए ।
शहीद घोषणा
सरकारले भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका ४५ जना युवालाई शहीद घोषणा गरिसकेको छ, जसमा दीपक पनि सामेल छन् । गाउँलेहरूबीच इमानदार र सहयोगी भनेर चिनिने होनहार युवा गुमाएकोमा मडैगाउँले दुःख व्यक्त गरिरहेको छ ।
दीपकको परिवारको एउटै आग्रह छ– ‘शहीद घोषणा मात्र पर्याप्त छैन । आन्दोलनमा ज्यान गुमाएका युवाहरूको उद्देश्य, विशेषगरी भ्रष्टाचार र असमानताविरुद्धका माग, पूरा गर्न सरकार, राजनीतिक दल र नागरिक समाजलगायत सबै पक्षले इच्छाशक्ति देखाउनु अपरिहार्य छ ।’
Facebook Comments