बाजुराको जयवागेश्वरी ‘शून्य बालविवाह वडा’ घोषित
बालविवाह न्यूनीकरण अभियान सफल
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते ००:१३
बाजुरा । बालविवाह न्यूनीकरणको अभियानमा महत्त्वपूर्ण सफलता हासिल गर्दै बाजुराको खप्तड छेडेदह गाउँपालिका–२, जयवागेश्वरीलाई बालविवाह शून्य वडा घोषणा गरिएको छ । गाउँपालिकाका सात वटा वडाहरूमध्ये बालविवाह शून्य घोषित हुने पालिकाको पहिलो वडा बनेको छ ।
वडाध्यक्ष भक्त बहादुर बुढाका अनुसार विगत दुई वर्षको अवधिमा २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको पुष्टि भएपछि र आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धतापछि वडालाई शून्य घोषणा गरिएको हो ।
महिला विकास मञ्च बाजुराको आर्थिक सहयोग तथा वडास्तरीय बाल सञ्जाल र बालक्लबहरूको सक्रिय सहकार्यमा यो अवस्था सिर्जना भएको हो ।
गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले वडा नम्बर २ लाई पहिलो शून्य घोषणा गर्न पाएकोमा खुसी व्यक्त गर्दै अबको लक्ष्य पालिकाका सबै वडालाई यसरी नै बालविवाह शून्य घोषणा गर्ने रहेको बताएका छन् ।
उनले निरन्तरताका लागि समुदाय, बालक्लब र जनप्रतिनिधिसहित सरोकारवाला निकाय एकजुट हुनुपर्नेमा जोड दिए ।
उपाध्यक्ष बिशुदेवि नाथले बालविवाहले स्वास्थ्य र पारिवारिक समस्या निम्त्याउने भन्दै उमेर पुगेर मात्र विवाह गर्न आग्रह गरिन् ।
घोषणा कार्यक्रममा सचेतनामूलक नाटक तथा नृत्य प्रदर्शन गरिनुका साथै अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समुदाय र संघ संस्थाहरूलाई सम्मान गरिएको थियो ।
Facebook Comments