हलेसी तुवाचुङ नगरपालिकामा शिक्षकहरूको मनोबल बढाउन स्थानीय भत्ताको व्यवस्था
भत्ताबापत पालिकाको व्ययभार एक वर्षमा १ करोड ७३ लाख थपिने
मेयरसाप डेस्क
|
२०८२ मंसिर २१ गते ११:५६
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ । शनिबारको कार्यपालिका बैठकले नगरक्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालु आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी,करार र प्राविधिक समूहका प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई पनि स्थानीय भत्ता प्रदान गर्ने निर्णय भएको छ । शिक्षकहरूको मनोबल बढाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न उक्त निर्णय भएको हो ।
जिल्लाको दोस्रो ठूलो (११ वडा रहेको) नगरपालिकामा १२ वटा माध्यमिक (कक्षा १२ सम्म), १५ वटा आधारभूत (कक्षा १ देखि कक्षा ८ सम्म) र ५९ वटा प्राथमिक तह (कक्षा १ देखि कक्षा ५ सम्म) गरी ८६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । अब भत्ताबापत पालिकाको व्ययभार एक आर्थिक वर्षमा रु एक करोड ७३ लाख थपिने छ ।
बालविकास केन्द्रदेखि कक्षा १२ सम्म करिब पाँच हजार २०० विद्यार्थी अध्ययनरत यो नगरपालिकामा ३०९ जना शिक्षक कार्यरत छन् । माध्यमिक तहमा १४, निम्न माध्यमिकमा २८ र प्राथमिक तहमा १६० जना छन् ।
Facebook Comments