साउदीको पीडा भुलेर स्वदेशमा उद्यम : वार्षिक १२ लाख आम्दानी
परम्परागत खेती छाडेर सागसब्जीमा केन्द्रित
No Author Assigned | २०८२ मंसिर २२ गते १०:१२कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न छन् ।
‘साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो”, उनले भने, “जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन, गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापनसम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ ।’
परम्परागत रूपमा खेती गर्दा मुस्किलले परिवारको भरणपोषण गर्न पुग्ने जग्गामा उनले सागसब्जीखेती गरेर वर्षमा रु १२ लाख आम्दानी गर्दै आएको बताए । उनी बालुवाफाँटाका सफल व्यावसायिक किसानका रूपमा परिचित छन् ।
उनले दुई विघामा बाह्रै महिना सागसब्जीखेती गर्दै आएका छन् । काउली, खुर्सानी, गोलभेँडालगायत सागसब्जी लटरम्म फलाएर उनी विदेश जान मरिहत्ते गर्ने युवा पुस्तालाई स्वदेशमा नै परिश्रम गर्न सुझाउँछन् ।
पौरखी चौधरीबाट प्रेरणा पाएर सोही स्थानका जितबहादुर चौधरी पनि व्यावसायिक सागसब्जीखेतीमा लागेका छन् । आफ्ना उत्पादन बनारसम्म पुर्याउन उनले खेतबाट कमाएको रकमले एउटा ‘पिकअप भ्यान’ पनि खरिद गरेका छन् ।
अन्नबालीभन्दा सागसब्जीबाट कुस्त कमाइ भएपछि उनले त्यसमा नै आफूलाई केन्द्रित गरेको जितबहादुरको भनाइ छ ।
Facebook Comments