कोरला सडक आयोजना : १३ पुल सम्पन्न, तीन ठेक्का रद्द

तीन पुल अन्तिम चरणमा

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २१ गते १४:१०
Image of https://mayorsap.com/storage/photos/shares/korala_1.jpg

मुस्ताङ । उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत हालसम्म १३ वटा पक्की पुल निर्माण सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेका छन् ।

२०७३–७४ सालदेखि सुरु भएको यो व्यापारिक मार्गअन्तर्गत तीनवटा पुल निर्माणको अन्तिम चरणमा रहेका छन्  । आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार हालसम्म सम्पन्न भएका पुलहरूमा म्याग्दी खण्डका राहुघाट र घट्टेखोला पुल समावेश छन् ।

मुस्ताङ खण्डमा भने लेतेखोला, सेतोखोला, छाक्ताङ खोला, मार्फाखोला, स्याङखोला, पान्डाखोला, छुसाङ नरसिंह खोला, चराङखोला, लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुलहरू सम्पन्न भइसकेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा मात्रै ६ वटा पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएका थिए ।

थासाङ–४ स्थित कैकुखोला, थासाङ–२ स्थित लार्जुङखोला र लोघेकर दामोदरकुण्ड–२ स्थित घमीखोला पुल निर्माणको अन्तिम चरणमा छन् । यी तीनवटै पुलको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको र चालु आवभित्र हस्तान्तरण हुने लक्ष्य छ ।

निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्का कारण म्याग्दीको रुप्सेखोला, थासाङको खहरेखोला र कागबेनीको निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको छ ।

बेलिब्रिज र अन्य पुलहरू
आयोजनाले पक्की पुलका साथै कालीपुल, तातोपानी, रुप्से, कागबेनी खोला लगायतका स्थानमा गरी ६ वटा बेलिब्रिज समेत निर्माण गरेको छ । बेलिब्रिज र पक्की पुल गरी हालसम्म १९ वटा पुल निर्माण भइसकेको आयोजनाले जनाएको छ ।

यसका अतिरिक्त, पुल सेक्टर कार्यालय पोखरा र अन्य कार्यालयबाट कार्यान्वयन भएका पर्वतको मालुढुङ्गादेखि मुस्ताङ खण्डसम्मका दमवाखोला, लस्तीखोला, मिलनचोक खोला, बेगखोला र जोमसोमस्थित कालीगण्डकी खोला पुललगायत आठवटा पक्की पुल निर्माण भइसकेका छन् ।


Facebook Comments