हेटौँडामा भत्काइयो ५३१ वटा घर–टहरा, स्थानीय आक्रोशित

User Image दिक्षान्स खड्का | २०८२ मंसिर २१ गते २२:०५
Image of https://mayorsap.com/storage/photos/shares/sadak-fod.jfif

मकवानपुर । हेटौँडामा पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा विस्तार गर्ने क्रममा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवज्ञा गर्दै ५३१ वटा घर–टहराहरू एकै दिन भत्काइएका छन् ।

सर्वोच्चले शुक्रवार मात्रै पूर्व सांसद विन्दवासिनी कंसाकारको रिटमा सुनुवाइ गर्दै सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । तर, आदेशको भोलिपल्टै लालपुर्जा भएका र कर तिरेका करिब ५० वर्ष पुराना संरचनाहरूमा डोजर चलाइएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर र सडक डिभिजन कार्यालय हेटौँडाले करिब पाँच सय सुरक्षाकर्मी परिचालन गरी शनिवार बिहानैदेखि डोजर चलाएका थिए । रातोमाटेदेखि बुद्ध चोकसम्मको क्षेत्रमा संरचना भत्काइएपछि विद्युत्, टेलिफोन र इन्टरनेट सेवा समेत अवरुद्ध भई हेटौँडा बजार शनिवार दिनभर अस्तव्यस्त बन्यो ।

सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले यो ‘साङ्केतिक’ कार्य भएको बताउँदै घरधनीलाई सामान स्वयं हटाउन समय दिइने बताएका छन् । सडक सीमाभित्र परेको उद्योग वाणिज्य संघको भवन समेत बलपूर्वक भत्काइएको डिभिजनले जनाएको छ ।

आदेश देखाउन नपाएका धेरै घर भत्काइएको भन्दै प्रभावितहरूले प्रशासनमाथि विभेदपूर्ण व्यवहार गरेको र विधिसम्मत प्रक्रिया नअपनाई बल प्रयोग गरिएको आरोप लगाएका छन् । एकै पटक धेरै संख्यामा घर–टहरा भत्किएपछि सयौँ परिवार विस्थापित भएका छन् । 


Facebook Comments