रौतहटमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो
मेयरसाप डेस्क
|
२०८२ मंसिर २१ गते २०:४९
चन्द्रपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शनिबार दिउँसोदेखि अवरुद्ध भएको सडक खुलेको छ । शुक्रबार भएको सवारी दुर्घटनाका मृतकका आफन्तले क्षतिपूर्ति माग गर्दै राजमार्ग ठप्प पारेका थिए ।
शुक्रबार चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत मोथियाही पुल नजिक ना४ख ६५४७ नम्बरको बस र ना३९प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२, विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
बस मालिकले कानुनले तोकेकोभन्दा बढी रकम नदिने अडान राखेपछि मृतकका परिवारले राजमार्ग अवरुद्ध गरेका थिए । वृन्दावन नगरपालिकाका पूर्वनगर प्रमुख रामस्नेही रायले पीडित परिवारको कमजोर अवस्थाका कारण थोरै रकम थप्न अनुरोध गरेका थिए ।
मोटरसाइकलमा सवार पटेलका १२ वर्षीय छोरा युवराज, ११ वर्षकी छोरी आकृति र १५ वर्षीय छोरा प्रिन्सकुमार घाइते भएका छन् । उनीहरूको निधार, खुट्टा र हातमा चोट लागेको छ ।
बसका चालक अमृतबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङले अवरोध हटाई राजमार्ग खुलाइएको जानकारी दिए ।
Facebook Comments