पोखरा विमानस्थल भ्रष्टाचार: ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर
८ अर्ब बिगो दाबी गर्ने निर्णय
मेयरसाप डेस्क
|
२०८२ मंसिर २१ गते ००:२४
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार ठहर गर्दै पाँच जना तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले विपक्षी बनाएका पाँच पूर्व मन्त्रीहरूमा डा. रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य रहेका छन् । यीमध्ये माओवादी नेता पोस्टबहादुर बोगटीको निधन भइसकेको छ ।
त्यस्तै, कांग्रेस नेता डा. रामशरण महत अल्जाइमरका कारण सक्रिय राजनीतिमा छैनन् । एमाले नेता भीम आचार्य विघटित प्रतिनिधिसभा सदस्य र उपाध्यक्षका दाबेदार समेत हुन् ।
खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा पर्यटनमन्त्री बनेका रामकुमार श्रेष्ठ यसअघि नै अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।
मन्त्रीहरूका साथै अख्तियारले १० जना तत्कालीन सचिवहरूलाई पनि प्रतिवादी बनाएको छ । यस प्रकरणमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन र तत्कालीन प्रोजेक्ट म्यानेजर तथा हाल निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।
साथै, तत्कालीन सचिव सुरेशमान श्रेष्ठ र कार्यदल संयोजक तथा सर्वोच्चका पूर्व रजिष्टार रामकृष्ण तिमल्सिना लगायत त्यस बेलाका उच्च अधिकारीहरूको ठूलो संख्या यस मुद्दामा परेका छन् ।
यो मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो कायम गर्ने निर्णय भएको अख्तियार स्रोतले जानकारी दिएको छ।
Facebook Comments