सर्वोच्चको आदेशपछि हेटौँडा सडक विस्तार तत्काल स्थगित

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २१ गते ०१:२३
Image of https://mayorsap.com/storage/photos/shares/sadak-fod.jfif

काठमाडौं । सडक डिभिजन हेटौँडाले बजारका मुख्य राष्ट्रिय लोक मार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम २०८२ अन्तर्गत भइरहेको सडक विस्तार कार्यलाई तत्कालका लागि स्थगित गरेको छ ।

सर्वोच्च अदालतले दिएको उत्प्रेषण आदेशका कारण यो कार्य रोकिएको डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिएका छन् । डिभिजनले शनिवार (हिजो) एकै दिन करिब ५०० वटा घर भत्काएको थियो । भत्काइएको घरबाट सामान सार्न दुई दिनको समय दिइएको छ ।

सडक डिभिजनले मंसिर ५ गते ७५–७५ फिट (२५–२५ गज) सडक सीमा विस्तारका लागि घर–टहरा हटाउन १५ दिने अल्टिमेटम सहित सूचना निकालेको थियो ।

पूर्व प्रतिनिधिसभा सदस्य विन्दवासिनी कंसाकारले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंसिर १९ गते सडक विस्तार सम्बन्धी उक्त सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएको हो ।

अदालतले सम्पत्ति हकको विषय उठेकाले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा दुवै पक्षलाई राखेर छलफल गर्न मंसिर २६ गते पेशी तोकेको छ ।

डिभिजन प्रमुख अधिकारीले मंसिर २१ गते दिउँसो १२ः४६ मा म्याद तामेल भएकोले सम्मानित अदालतको आदेशको सम्मान गर्दै सूचनामा उल्लेखित कार्यहरू हाललाई स्थगन गरिएको बताएका छन् ।


Facebook Comments