जैमिनीको ‘स्याहार’ : छोरी जन्मनेबित्तिकै मुद्दती खाता उपहार

हट्ला त छोरा–छोरीबीचको विभेद?

User Image जनेश ठकुल्ला | २०८२ मंसिर २१ गते ०६:०९
Image of https://mayorsap.com/storage/photos/shares/jaimini-nagar-jaimini-xori.png
तस्बिर : राहुलकुमार ढकाल/मेयरसाप

काठमाडौं । छोरीको जन्म, अहिले पनि कतिपय परिवारमा खुसी भन्दा पनि चिन्ताको विषय बनिरहेको हुन्छ । तर, यही सामाजिक सोचलाई अन्त्य गर्न बागलुङको जैमिनी नगरपालिकाले एक फरक पहल थालेको छ । नगरपालिकाले ‘जैमिनीको छोरी’ नामक कार्यक्रममार्फत नगरक्षेत्रमा जन्मिएका छोरीहरूका लागि ‘मुद्दती खाता’ खोलिदिने गरेको छ ।

आर्थिक वर्ष २०८१–०८२ देखि सुरू गरिएको ‘जैमिनीको छोरी’ कार्यक्रममार्फत नगरपालिकाले छोरी जन्मिने बित्तिकै अभिभावकलाई बधाई पत्रसहित बैंक खाता पनि खोलिदिन्छ । नगरपालिकाको विवरण अनुसार, गत वर्ष २५० बच्चाहरू जन्मिएका थिए । ती बच्चामध्ये ९९ जना छोरी र १५१ छोरा जन्मिएका थिए । ९९ छोरीमध्ये नगरपालिकाले हालसम्म ४१ जना छोरीलाई ‘मुद्दती खाता’ खोलिदिएको छ ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्र जन्मिएका छोरीहरूका लागि ‘मुद्दती खाता’ खोलेर प्रारम्भिक रूपमा २,५०० रूपैयाँ पनि जम्मा गरिदिने गरेको छ । यो रकम तत्काल थोरै देखिए पनि भविष्यमा ठूलो आर्थिक सहयोगमा रुपान्तरण हुने नगरपालिकाले विश्वास गरेको छ । मुद्दती खातामा जम्मा गरिएको रकम चक्रिय ब्याजमा बचतमा बस्ने गरी बैंकसँग समन्वय पनि गरिएको छ ।  

देशभरका अधिकांश स्थानीय सरकारहरूले छोरीको जन्मलाई प्रोत्साहन गर्न फरक–फरक कार्यक्रमहरू सञ्चालनमा ल्याइरहेका छन् । जैमिनी नगरपालिकाले पनि छोरीको जन्मलाई प्रोत्साहन गर्ने, भ्रूणहत्या रोक्ने र भविष्यमा छोरीलाई उच्च शिक्षा अध्ययन गर्न सहज हुने उद्देश्यले ‘जैमिनीको छोरी’ कार्यक्रम सञ्चालनमा ल्याएको जनप्रतिनिधिहरू बताउँछन् ।

कार्यान्वयनमा व्यावहारिक कठिनाइ
नगरपालिकाको सामाजिक विकास शाखामा कार्यरत महिला विकास निरीक्षक तथा कार्यक्रमकी संयोजक देवी बिक सुनारका अनुसार, गत आर्थिक वर्षमा छुटेका ५८ जना छोरीहरू र चालू आर्थिक वर्षमा जन्मेका सबै छोरीहरूको मुद्दती खाता खोल्ने काम अब एकैसाथ अगाडि बढाइनेछ ।

‘यो वर्ष यही महिनादेखि नै सुरू गर्ने योजना छ’, संयोजक सुनारले भनिन्, ‘प्रक्रियागत रूपमा अभिभावकले बच्चाको संरक्षणको रूपमा निवेदन लिएर आउनुहुन्छ । त्यो निवेदन नगरपालिकामा दर्ता हुन्छ र सो सिफारिस लिएर बैंकमा जाने व्यवस्था मिलाइएको छ ।’

कार्यक्रमको उद्देश्य ठूलो र सकारात्मक भए पनि मुद्दती खाता खोल्ने तथा अभिभावकलाई बुझाउने काममा भने व्यावहारिक कठिनाइ रहेको उनी बताउँछिन् । ‘मुद्दती खाता खोल्न सहज छैन । सबैलाई समेट्न पनि सकिएको छैन । अभिभावकलाई बुझाउन पनि गाह्रो छ’, उनले भनिन्, ‘बैंकसँग समन्वय गर्न पनि समस्या हुन्छ ।’ यद्यपि, उनले रकम ठूलो नभए पनि सामाजिक महत्त्वका कारण यसको प्रभावकारिता बढ्दै गएको बताइन् ।

याे कार्यक्रमकाे लाभबाट कोही पनि परिवार वञ्चित नभएको उनको दाबी छ । गत वर्ष कार्यविधि र समयको कारणले छुटेका छोरीहरूलाई यसपटक एकैसाथ समेट्ने योजना रहेकाले दुर्गम ठाउँका परिवारहरू पनि यसको लाभबाट वञ्चित नहुने उनले स्पष्ट पारिन् ।

‘अघिल्लो वर्ष विभिन्न कारणले केही छोरीहरू छुटेका थिए । अब यसपाली सबैलाई एकैसाथ समेट्दै छौं,’ संयोजक सुनारले मेयरसाप डटकमसँग कुरा गर्दै भनिन्, ‘हालसम्म कुनै परिवार र छोरीहरू यो लाभबाट रोकिएका छैनन् ।’

समयमै जन्मदर्ता नगर्दा चुनौती
‘जैमिनीको छोरी’ कार्यक्रमको लाभ नगरका सबैभन्दा दुर्गम तथा विपन्न समुदायसम्म पुर्याउने कार्यमा आएका प्रारम्भिक व्यवस्थापकीय चुनौतीहरू हाल समाधान भएको जनस्वास्थ्य अधिकृत गोविन्दप्रसाद शर्मा आचार्यले बताए । 

आचार्यका अनुसार, कार्यक्रमको सुरुवाती चरणमा दुर्गम भेगका अभिभावकलाई सूचना दिने र लाभ दिलाउने प्रक्रियामा केही समस्या देखिएका थिए । ‘पहिले बैंकसँग सम्पर्क गर्नुपर्ने र बैंक टाढा हुँदा अलि ढिलो भएको थियो,’ उनले भने, ‘त्यस कारण गत वर्ष दुर्गम वा विपन्न समूदायसम्म यो कार्यक्रमको सूचना र लाभ पुर्याउन केही समस्या भएको थियो ।’

नगरपालिकाका उप–प्रमुख हरिहर शर्माका अनुसार, यो कार्यक्रम आर्थिक सहयोग नभई सामाजिक सम्मान र सकारात्मक सोच विकास गर्नमा केन्द्रित छ । नगरपालिकाले सामाजिक परम्परा चिर्दै बचतको संस्कृति विकास गर्ने दोहोरो लक्ष्य राखेको उनको भनाइ छ ।

उनका अनुसार, यो कार्यक्रमको लक्ष्य समाजमा छोरी जन्मँदा निराशा र छोरा जन्मँदा खुसी हुने पुरानो सामाजिक परम्परालाई तोड्नु हो । ‘हाम्रो समाजमा छोरी जन्मँदा निराश हुने र छोरा जन्मिएपछि खुसी हुने सामाजिक परम्परा थियो । यो परम्परालाई तोड्न पर्छ भनेर यो कार्यक्रमलाई सुरूआत गरेका हौं,’ शर्माले भने ।

दोस्रो लक्ष्य भनेको बचतको संस्कृति विकास गर्नु रहेको उनले स्पष्ट पारे । जन्मदर्ता गर्ने बित्तिकै प्रत्येक छोरीलाई रु.२५ सयका दरले मुद्दती खातामा सानो रकम भए पनि जम्मा गरिदिँदा अभिभावकलाई पनि २० वर्षपछि ठूलो रकम प्राप्त हुने र सो खातामा थप रकम राख्ने बानीको विकास हुने शर्माको विश्वास छ ।

उप–प्रमुख शर्माका अनुसार, यो कार्यक्रमले छोरीहरुप्रति आर्थिक सहयोगमा मात्र नभई सामाजिक सम्मान र सकारात्मक सोचमा पनि परिवर्तन ल्याएको छ । साथै नगरपालिकाले नागरिकलाई सचेत बनाउने काम पनि गरिरहेको उनको तर्क छ ।

‘हाम्रो पुरानो संस्कृतिदेखि काजक्रिया सबै छोरीले गरेर हुँदैन भन्ने एउटा ‘कल्चर’ थियो । यो कुरालाई पनि हामीले चिर्नुपर्ने छ । विस्तारै छोरीहरूले पनि काजक्रिया गर्ने काम सुरू भइसकेको छ,’ उनले भने, ‘यो कार्यक्रमबाट पनि हामीले समाजमा छोरीप्रति गरिने विभेदलाई अन्त्य गर्न खोजेका छौं ।’

शर्माले अगाडि थपे, ‘सानो भए पनि छोरी जन्मिँदा नगरपालिकाले सहयोग गर्छ भनेर अभिभावकको मनोविज्ञान निर्माण गर्न खोजेका हौं । स्थानीय सरकार प्रत्येक छोरी प्रति यति धेरै उदार छ कि, छोराका लागि विभिन्न खालका कार्यक्रम हुन्छन् तर छोरीका लागि यस्ता कार्यक्रम हामीले बिरलै देख्छौं ।’

यो कार्यक्रम कार्यान्वयन गर्दा जन्मदर्तामा भने चुनौती देखिएको छ । ‘जन्मदर्ता जन्मेको ३५ दिनभित्र गर्नुपर्छ भनेर नागरिकहरू अझै सचेत नभएको अवस्था छ’, उनले भने, ‘बैंक खाता खोल्नेमा खासै समस्या नभए पनि जन्मदर्तामा चुनौती छ ।’ यद्यपि, कार्यक्रम सुरु भएपछि जन्मदर्ता गर्नेको संख्या बढेको र ‘जन्मदर्ता गर्नुपर्छ’ भन्ने सन्देश पनि गएको उनले दाबी गरे ।

उनले समग्र नगरवासी र छोरी जन्माउने अभिभावकहरूले यो कार्यक्रमबारे सकारात्मक प्रतिक्रिया दिएको र सबै अभिभावक खुसी भएको बताए । यद्यपि, उनले यो काम ६ महिनाभित्र गरिसक्नुपर्ने भए पनि पहिलो वर्ष कार्यविधि नबनेर अलमल भएको बताए ।

यातायात खर्च र खाता खोलिदिने व्यवस्था
नगरपालिकाको वडा नम्बर ३ मा ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत अभिभावकलाई बैंक तथा नगरपालिकासम्म धाउनुपर्ने झन्झटबाट मुक्त गर्न वडा कार्यालयबाटै खाता खोल्ने व्यवस्था मिलाइएको छ । दुर्गमका अभिभावकको समस्यालाई ध्यानमा राखेर यो सेवा विस्तार गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले बताए ।

‘छोरीको मुद्दती खाता खोल्नका लागि अभिभावकलाई हामीले सहजीकरण गरिरहेका छौं’, उनले मेयरसाप डटकमसँग भने, ‘अभिभावकलाई मुद्दती खाता खोल्नका लागि मात्रै बैंकसम्म पठाउँदैनौं । वडा कार्यालयबाटै यो सेवा दिइरहेका छौं ।’

उनका अनुसार, मुद्दती खाता खोल्नका लागि अभिभावकलाई बैंकसम्म पठाइएको छैन । बैंकसँग समन्वय गरेर खाता खोल्ने फर्महरू वडा कार्यालयमै उपलब्ध गराइएको छ । छोरीको जन्मदर्ता गर्ने वित्तिकै वडा कार्यालयबाटै फर्म भरेर खाता खोलिदिने व्यवस्था गरिएको छ ।

वडा नम्बर ३ ले यो वर्ष मात्रै १२ जना छोरीहरूको मुद्दती खाता खोलिसकेको छ । अघिल्लो वर्ष पनि आफ्नो वडाभित्रका कुनै पनि छोरीहरू यो सेवाबाट वञ्चित नभएको वडाध्यक्ष भुजेलको दाबी छ ।

यस्तै, वडा नम्बर ८ का नागरिकका लागि ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत मुद्दती खाता खोल्न बैंकसम्म जाँदा अभिभावकलाई पर्ने आर्थिक भार नगरपालिका आफैंले बेहोर्ने गरेको छ । 

‘हाम्रो वडा नम्बर ८ बाट बैंक खाता खोल्नका लागि नगरपालिकासम्म पुग्नपर्ने हुँदा अभिभावकलाई आर्थिक भार पनि थपिने समस्या थियो’, वडाध्यक्ष बिमल श्रीस भन्छन्, ‘यो समस्यालाई हामीले सम्बोधन गरेर जन्मदर्ता गरिसकेपछि नगरपालिका वा बैंक जानको लागि अभिभावकलाई आउने जाने भाडा पनि नगरपालिकाले व्यहोरिदिने गरेको छ ।’

वडा नम्बर ८ दूरीका हिसाबले अन्य वडाभन्दा टाढा भएकाले नगरपालिकाले अभिभावकको आवतजावतमा लाग्ने खर्च बेहोरिदिने निर्णय गरेको उनले जानकारी दिए । यस व्यवस्थाले दुर्गम क्षेत्रका अभिभावकहरूलाई मुद्दती खाताको लाभ लिन थप सहज भएको उनको भनाइ छ ।

वडाध्यक्ष श्रीसले यो सुविधा सबै वडाका लागि नभएको स्पष्ट पारे । ‘यो सेवा सबै वडाका लागि होइन, केही दुर्गम भेग अथवा बैंकभन्दा टाढा रहेका वडाका बासिन्दाका लागि मात्र हो,’ उनले भने ।

छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दती खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावकसमेतलाई उक्त खातामा दक्षअनुसार रकम जम्मा गर्न अनुरोध गर्दै आएको छ । अघिल्लो वर्ष कार्यविधि ढिला बन्दा छुटेका छोरीहरूलाई यो वर्ष समेट्ने नगरपालिकाको तयारी छ । यस कार्यक्रमलाई थप आकर्षक र प्रभावकारी बनाउन २०८२–०८३ को नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।


Facebook Comments