संसद् पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ७ सांसद सर्वोच्चमा
मेयरसाप डेस्क
|
२०८२ मंसिर २१ गते ०६:४८
काठमाडौं । विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सात सांसदहरू सर्वोच्च अदालत पुगेका छन् ।
प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक, जाबेदा खातुन जागा र अन्य एक सांसदले रिट निवेदन लिएर अदालतमा पेस गरेका हुन् । उनीहरूको तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्म खातीले वारेसका रूपमा निवेदन पेस गरेका छन् ।
अदालत प्रशासनका अनुसार निवेदन सर्वोच्चमा पेस भइसकेको छ र यसको अध्ययनपछि सोमबार दर्ता हुने जानकारी आएको छ । रिट संवैधानिक इजलासमा दर्ताका लागि पठाइएको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी नेकपा एमाले र सार्वजनिक सरोकारका १७ थान रिट यसअघि नै सर्वोच्चमा विचाराधीन छन् । सर्वोच्चले यसअघि दर्ता भएका सबै रिटहरूलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरिसकेको छ ।
गत भदौमा भएको जेनजी आन्दोलन र प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको थियो । कार्कीले शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्, जसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका थिए ।
Facebook Comments