झापामा ७५ जना एचआइभी सङ्क्रमितको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २२ गते १६:१४
Image of https://mayorsap.com/storage/photos/shares/1746617965.jpg

झापा । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए। आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र आव २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उनले बताए। 

“उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्यमा झरेको छ”, उनले भने, “तर, मृत्युदर भने बढेको छ ।” चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका छन् । नयाँ एचआइभी सङ्क्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन् । 

झापामा हालसम्म नयाँ तथा पुराना गरी ८०६ जना एचआइभी सङ्क्रमितले नियमित एआरटी सेवा लिइरहेका छन् । जिल्लामा कूल एचआइभी सङ्क्रमितमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका रहेको फोकल पर्सन दासले बताए। स्वास्थ्य कार्यालय झापा र लवकुश आश्रमद्वारा १८ वर्ष मुनिका सङ्क्रमित बालबालिकाका लागि प्रतिमहिना रु एकरएक हजारको दरले सहयोग प्राप्त भइरहेको छ । नयाँ सचेतना समूह भद्रपुरमा रहेकोमा ३० जना सबै बालबालिकाले एआरटी सेवा लिँदै आइरहेका छन् ।

झापामा आव २०७९/८० मा नयाँ ७० जना र पुरानो गरी ६६३ जना, आव २०८०/८१ मा नयाँ ७४ जना र पुरानो गरी ७५० जना र आव २०८१/८२ मा नयाँ ५६ जना र पुरानो ७८४ जना एचआइभी सङ्क्रमित उपचाररत रहेको कार्यालयको तथ्याङ्क छ ।


Facebook Comments