मेयर फुटबल प्रतियोगितामा खेलाडीमाथि निर्घात कुटपिट, चार जनाविरुद्ध किटानी जाहेरी
खेलाडीकाे नाक, आँखा, टाउको र शरीरमा चोट
मेयरसाप डेस्क
|
२०८२ मंसिर २२ गते १६:१०
कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिकामा आयोजित ‘वडा स्तरीय मेयर फुटबल’ प्रतियोगितामा खेलाडीमाथि निर्घात कुटपिट गर्ने चार जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।
गत बिहीबार पहिलो सेमिफाइनल खेलका क्रममा वडा १० का खेलाडी करण पालमाथि कुटपिट भएपछि उनको परिवारले प्रहरीमा किटानी जाहेरी दिएको हो ।
पालमाथि वडा १ का खेलाडी र समर्थकहरूले निर्घात कुटपिट गरेका थिए । वडा नम्बर १ र १० बीच चलेको सेमिफाइनल खेलका क्रममा ’हेण्ड’ बलको विषयलाई लिएर विवाद चर्किएपछि वडा नम्बर १ का खेलाडीहरूले पालमाथि सामूहिक रूपमा कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए ।
कुटपिटबाट घाइते पालको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पालको नाक, आँखा, टाउको र शरीरमा चोट लागेको छ ।
कुटपिटमा अन्य धेरै जनाको संलग्नता रहेपनि पहिचान भएका चार जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेकाे परिवारले जनाएकाे छ । कुटपिटमा संलग्न ४ जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
Facebook Comments