मेयरसाप डटकमका हेटौंडा संवाददातालगायत पत्रकारमाथि सडक विस्थापितहरूकाे आक्रमण प्रयास

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २२ गते १९:३१
Image of https://mayorsap.com/storage/photos/shares/mayorsap-reporter.jpeg

हेटाैंडा । हेटाैंडामा सडक विस्तारका कारण प्रभावित स्थानीयहरू जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गर्न पुगेका बेला समाचार संकलनका लागि खटिएका मेयरसाप डटकमका हेटौंडा संवाददाता दिक्षान्स खड्कालगायत अन्य पत्रकारमाथि दुर्व्यवहार भएकाे छ ।

जिल्ला प्रशासनकाे मुल गेटबाहिर सडक विस्तारका क्रममा भत्काइएका घर बनाइदिनुपर्ने, मुआब्जा दिनुपर्ने, सिडिओले राजीनामा दिनुपर्ने, सर्वाेच्चकाे आदेश पालना गर, डाेजर आतंक बन्द गर' जस्ता माग राख्दै प्रदर्शन गरिरहेका प्रभावित परिवारहरू संलग्न आन्दाेलनमा समाचार संकलन गर्न गएका मेयरसाप डटकमका हेटौंडा संवाददाता लगायत अन्य पत्रकारहरूलाई धम्कीपूर्ण भाषा प्रयाेग गर्दै भाैतिक आक्रमणकाे प्रयास गरेका हुन् ।

उनीहरूले प्रदर्शनकारीहरूकाे दृश्य खिच्न प्रशासन कार्यालय अगाडिकाे सडक छेउमा रहेकाे माटाेकाे ढिस्काेमा चढेका पत्रकारहरूलाई सडकमा ओर्लिन र नओर्लिए राम्राे नहुने धम्कीपूर्ण भाषा प्रयाेग गरेका थिए । आफूहरूको पक्षमा `नबोलेको´ र `समाचारमा स्थान नदिएको´ भन्दै केही प्रदर्शनकारीहरूले संवाददाता खड्कामाथि दुर्व्यवहारसहित आक्रमणकाे धम्की दिएका हुन् ।

पत्रकारहरूले `तपाईंहरूकाे विषय समेट्नकै लागि यहाँ उपस्थित भएकाे´ बताउँदै सम्झाउन खाेज्दा प्रदर्शनकारीहरूकाे ठूलाे भिड मेयरसाप स‌वाददाता खड्कासहित पत्रकारहरूमाथि जाइलागेकाे थियाे । घटनास्थलमा प्रदर्शनकारी समूहले समाचार सम्प्रेषणमा हस्तक्षेप गर्ने उद्देश्यले क्यामेरा–माइकलगायत सञ्चार सामाग्री खाेस्ने प्रयास गरेकाे थियाे । पत्रकारहरूकाे समूहलाई घटनास्थलमा रहेका प्रहरीहरूले सुरक्षा दिएका कारण भिडले हातपात गर्न नपाएकाे संवाददाता खड्का बताउँछन् ।


Facebook Comments