मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने
मेयरसाप डेस्क
|
२०८२ मंसिर २२ गते २०:२३
काठमाडौँ । निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
आयोगद्वारा आज जारी विज्ञप्तीमा यही मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ । आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले २०८२ भदौ ५ गतेसम्म देशभरबाट सङ्कलित मतदाता विवरणलाई अद्यावधिक अघि बढाइने जानकारी दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरू योग्य मतदाता मानिने आयोगले जनाएको छ ।
मतदाता नामावली अद्यावधिक (दावी बिरोध) कार्यक्रम अन्तर्गत सङ्कलित मतदाताको विवरण आयोगको वेबसाईटमा प्रकाशन गरिनेछ । आयोगले सङ्कलित मतदाता नामावली आफ्नो वेबसाइटमा प्रकाशन गरेपछि मङ्सिर २६ गतेसम्म नाम, ठेगाना वा अन्य विवरणमा त्रुटी सच्याउन निवेदन दिन सकिने विज्ञप्तीमा उल्लेख छ । कसैले झूटो विवरणका आधारमा नाम दर्ता गराएमा विरोधमा उजुरी दिन सकिनेछ ।
एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा परेमा एक स्थानमा मात्र राख्न अनुरोध आयोगको छ । मृतक वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन सूचना दिन आग्रह गरिएको छ । दाबी–विरोधका सबै प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । मतदान स्थल छनोटका लागि अनलाइन सुविधा वृद्धि गर्ने उद्देश्यसहित आयोगले कतिपय मतदान स्थलहरूको पुनरावलोकन समेत गरेको छ ।
मतदाताले अब आफ्नो वडाभित्रका मतदान स्थलमध्ये सुविधाजनक स्थल छनोट गर्न अनलाइन प्रणालीमार्फत निवेदन दिन सक्नेछन् । आयोगले मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय र त्रुटीरहित बनाउन आम मतदाता तथा सरोकारवालाको सक्रिय सहभागिताका लागि अपिल गरेको छ ।
Facebook Comments