प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँकाे टोलीबीच के भयो छलफल ?
मेयरसाप डेस्क
|
२०८२ मंसिर २२ गते २१:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट तथा छलफल गरेकी छिन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा आएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गरेकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
उक्त छलफलमा प्रधानमन्त्री कार्कीले आफूहरु पनि बेथिति र भ्रष्टाचार नियन्त्रण गर्नकै लागि आएको बताउँदै सरकार त्यसका लागि प्रयासरत रहेको बताइन् । प्रसाईँले उठाएका कतिपय माग जेनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको उनको भनाइ थियो । तर ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर विचार गर्नुपर्ने उनको धारणा थियो ।
प्रसाईँले अघि सारेका मागका विषयमा आगामी दिनमा छलफल गर्दै जाने समझदारी भएको जनाइएको छ । अभियानका नेता प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरुप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए। प्रसाईँले आफ्ना मागबारे प्रस्ट्याउँदै आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवाद पनि दिएकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सचिवालयकाअनुसार शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गरे।
यता, प्रधानमन्त्री कार्कीसँगको छलफलपछि सञ्चारकर्मीसँगको संवादमा प्रसाईले सर्वदलीय तरिकाले जनमत सङ्ग्रहमा जानुपर्ने माग राखेको बताए । उनले प्रधानमन्त्री कार्कीले आगामी पौष २ गतेसम्म त्यसबारे निर्णय गर्ने आश्वासन दिएकाे पनि बताए ।
Facebook Comments