बाजुराको बडीमालिका नगरपालिकामा ३६ जना विद्यार्थी विद्यालय बाहिर
बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने विषयमा छलफल
गोविन्द तिमिल्सेना
|
२०८२ मंसिर २३ गते ०२:३८
बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा करिब ३६ जना बालबालिकाहरु विद्यालयभन्दा बाहिर रहेको छन्। नगरपालिकाको आयोजना र पीसविन नेपालको सहयोगमा भएको छलफल कार्यक्रममा तथ्यांक सार्वजनिक भएको हो ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा पीसविन नेपालद्धारा सञ्चालित आभा परियोजनाले गरेको सर्वेक्षण अनुसार करिब ३६ जना बालबालिका विद्यालय नजाने गरेको पाइएको हो ।
सर्वेक्षणको तथ्यांक अनुसार ५ वर्षदेखि १७ वर्षसम्मका २१ जना छात्र र १५ छात्रा गरी ३६ जना विद्यार्थी बाहिर रहेको पाइएको हो। सर्वेक्षण अनुसार ३६ जना बालबालिका विद्यालय बाहिर रहेको र एकिन रिर्पोटमा संख्या थपघट हुन सक्ने पीसविनबाट सञ्चालित आभा परियोजना संयोजक पदम बहादुर कठायतले बताए ।
बाहिर रहेका बालबालिकालाई कसरी विद्यालयमा ल्याउन सकिन्छ भन्ने विषयमा विद्यालयका शिक्षक, जनप्रतिनिधि तथा विषयगत शाखा प्रमुखसँग छलफल गरिएको समेत कठायतले बताएका छन्। पालिकाले नीति र योजना निर्माण गरेर बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने वातावरण बनाउनुपर्ने कुरामा छलफल गरिएको हो।
कार्यक्रममा नगर उपप्रमुख नन्दा कुमारी थापाले अपांगताका कारण केही बालबालिका घरमै रहेको र केही भारतमा रहेको भन्दै बृहत छलफल गरेर उनीहरुलाई विद्यालयमा ल्याउन सकिने बताएकी हुन्। पालिकाले विशेष समन्वय, सहकार्य गरेर ती बालबालिकाहरुलाई विद्यालय ल्याउन प्रयास गर्ने उनको भनाइ छ ।
नगर उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा अध्यक्ष, विषयगत शाखा प्रमुख, मालिका नमुना माविका प्राचार्य शुभराज पाध्याय, आभा परियोजना संयोजक पदम कठायत, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
Facebook Comments