स्वामीकार्तिक खापर गाउँपालिकाका ७ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

User Image गोविन्द तिमिल्सेना | २०८२ मंसिर २३ गते ०२:३६
Image of https://mayorsap.com/storage/photos/shares/1000051526.jpg

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका करिब ७ सय विद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको छ। गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल झोला सँगै चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो।

अत्याधिक चिसो बढ्दै गएकाले चिसोबाट बालबालिकाहरुलाई सुरक्षित राख्नको लागि थौरे भए पनि राहत मिलोस् भन्ने उदेश्यका साथ विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो ।

नेपालका साथीहरु नामक संस्था, स्वामीकार्तिक गाउँपालिकाको सहकार्यका साथै नागरिक सेवा सरकार मञ्चको समन्यवयमा विद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिए।

गाउँपालिकाको वडा नम्बर ४ को कालिका आधारभूत विद्यालय, कर्णाली आधारभूत विद्यालय, वडा नम्बर ३ को शम्भु शुनन्दा माध्यामिक विद्यालय, वडा नम्बर २ को रुपाली आधारभूत विद्यालय र रागुमाता मावि लगायत विभिन्न विद्यालयका करिब ७ सय  बालबालिकालाई सामाग्री वितरण गरिएको हो ।

शैक्षिक सामाग्री झोला वितरणले स–साना बालबालिकाको  अध्ययन अध्यापनमा सहज हुने गाउँपालिका अध्यक्ष रोकायाले बताए । जाडोको समय भएकाले चिसोबाट बच्न ज्याकेटले बालबालिकाहरुलाई ठूलो राहत मिल्ने उनको भनाई छ ।

गाउँपालिका भित्र विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वयम् घरदैलो र विद्यालयमै पुगेर सामाग्री वितण गर्न पाउँदा निकै खुसी लागेको अध्यक्ष रोकायाले बताए। 

स्वामीकार्तिक खापर गाउँपालिकाले विभिन्न सहयोगी संस्थासँग समन्वय र सहकार्य गरेर पालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समय–समयमा शैक्षिक सामाग्रीका साथै न्यानो कपडा वितरण गर्दै आएको छ। गाउँपालिकाका अध्यक्ष रोकायाले आफैं विद्यालयमा पुगेर विद्यार्थीलाई सामाग्री वितरण गरेका हुन्। 

 


Facebook Comments