सेवा प्रवाह सहज बनाउन वीरगञ्ज महानगरलाई ९ थान कम्प्युटर सहयोग

सङ्कटमा महानगरलाई बैंकहरूको साथ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २४ गते ०३:३२
Image of https://mayorsap.com/storage/photos/shares/com-bitaran.jfif

वीरगञ्ज । गत भदौ २३ र २४ गतेको ’जेन–जी’ आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीबाट कार्यालयका सामग्रीहरू नष्ट भएपछि सेवा प्रवाह प्रभावित बनेको वीरगञ्ज महानगरपालिकालाई यहाँका बैंकहरूले कम्प्युटर सामग्री सहयोग उपलब्ध गराएका छन् ।

आज एक कार्यक्रमकाबीच वीरगञ्जमा सञ्चालनमा रहेका ९ वटा बैंकहरूले महानगरपालिकालाई ९ थान कम्प्युटर हस्तान्तरण गरेका छन् ।

एभरेस्ट, लक्ष्मी सनराइज, सिद्धार्थ, कुमारी, ग्लोबल आइएमई, प्रभु, माछापुच्छ्रे, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंक लिमिटेडले एक–एक थान कम्प्युटर सहयोग गरेका हुन् ।

नगरका नियमित कामकाजलाई सहज बनाउन र सेवा प्रवाह सुचारु गर्न महानगरका सद्भावना दूत अशोक वैद्यको पहलमा यो सहयोग जुटेको हो ।

महानगर प्रमुख राजेशमान सिंहले संकटको घडीमा बैंकहरूले गरेको सहयोगले ’फेरि उठ्ने हिम्मत र ऊर्जा’ दिएको भन्दै कृतज्ञता व्यक्त गरेका छन् ।

बैंकर एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा उपलब्ध गराउनु बैंकहरूको दायित्व भएको बताउँदै आवश्यक उपकरण सहयोग गरेको जानकारी दिए ।

यसअघि पनि सूर्य नेपाल, औषधि व्यवसायी संघ, ब्रिटानिया नेपाल लगायत विभिन्न संघ–संस्थाहरूले महानगरलाई कम्प्युटर, ल्यापटप र फर्निचर सामग्रीहरू सहयोग गरिसकेका छन् ।


Facebook Comments