कफी खेतीमा जोड दिन पालिकालाई गुल्मीका किसानको आग्रह
गुल्मीमा कफी उत्पादनको चुनौती
मेयरसाप डेस्क
|
२०८२ मंसिर २४ गते ०६:०८
गुल्मी । कफी खेतीको उद्गमस्थल (जननी) मानिने गुल्मीमा कफी बगैँचाहरू सुक्दै जान थालेपछि यसको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
कफी विकास केन्द्र आपचौर, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र कफी अनुसन्धान कार्यक्रमको संयुक्त आयोजनामा भएको छलफल तथा अन्तक्र्रियामा किसानहरूले कफी खेतीलाई बचाउन स्थानीय सरकारको थप सहयोगको अपेक्षा गरेका हुन् ।
समन्वयको अभाव
कार्यक्रममा कफी विज्ञहरूले कफी नेपालको महत्वपूर्ण नगदेबाली भएको औँल्याउँदै तीनै तहका सरकारले लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
स्थानीय रुद्र खरेलले जिल्लामा कफीको क्षेत्रमा काम गर्ने धेरै सरकारी निकाय र सहकारी भए पनि उनीहरूबीच आपसी समन्वयको अभावले किसानको सहभागिता घट्दै गएको बताए ।
कफी अनुसन्धान कार्यक्रमका प्रमुख जनार्दन गौतमले विश्वमै स्वादका आधारमा नेपाली कफी सातौँ स्थानमा पर्ने र यसको विश्व बजारमा राम्रो माग रहेको जानकारी गराए ।
जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले गुल्मीलाई चिनाउने मुख्य आधार कफी भएकाले यसको व्यावसायिक उत्पादनका लागि स्थानीय स्तरबाट सबै जागरुक हुनुपर्नेमा जोड दिए ।
किसानका माग र पालिकाको प्रतिबद्धता
कफी कृषकहरूले कफीको व्यावसायिक उत्पादनका लागि स्थानीय पालिकाले बिरुवा, छहारी व्यवस्थापन र प्राविधिक सहयोगमा अनुदानका थप कार्यक्रमहरू अघि बढाउन सुझाव दिएका छन् ।
किसानहरूले प्रत्येक पालिकाले वार्षिक रूपमा कम्तीमा पाँच हजार कफीका बिरुवा रोपण कार्यक्रम अघि बढाउनुपर्ने र ५० रोपनी जग्गामा कफी लगाउने कृषकलाई प्रोत्साहन प्याकेज दिनुपर्ने धारणा राखेका छन् ।
मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले नगरपालिकाले कफी कृषकका लागि उपलब्ध गराउँदै आएको अनुदानमा वृद्धि गर्दै आगामी दिनमा विस्तारका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।
हाल गुल्मीमा २४१ हेक्टर क्षेत्रफलमा कफीखेती हुँदै आएको छ । गत वर्ष ३० मेट्रिक टन कफी उत्पादन भएकोमा आठ टन ग्रिनबिन मात्र तेस्रो मुलुकमा निर्यात भएको थियो । जिल्लामा एक हजार ८०० भन्दा बढी कृषक कफीखेतीमा आबद्ध छन् ।
Facebook Comments