नक्कली प्रमाणपत्र पेस गरी बढुवा लिने सब–इन्जिनियरविरुद्ध मुद्दा

सरकारी सेवामा झुटाे कागजात

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २४ गते ०६:०४
Image of https://mayorsap.com/storage/photos/shares/bisesh-adalat-ba7arfa3ws.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरी बढुवा समेत लिएको आरोपमा सुनसरीको वराहक्षेत्र नगरपालिकाका तत्कालीन सब–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाको हाई स्कुल तहको नक्कली लब्धाङ्क पत्र र मडैया बलुवा उच्च विद्यालयको नक्कली ‘स्कुल लिभिङ सर्टिफिकेट’ पेस गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

उनले सोही नक्कली प्रमाणपत्रको भरमा २०५३ सालमा सहायक सब–ओभरसियर (रा.प.अनं. द्वितीय सरह) पदमा स्थायी नियुक्ति लिएका थिए । यति मात्र होइन, उनले सोही आधारमा २०६७ सालमा सहायक इन्जिनियर पदमा बढुवा समेत लिएको पुष्टि भएको छ ।

नक्कली प्रमाणपत्र प्रयोग गरी सरकारी ओहोदा, तलब र सुविधा लिएको पुष्टि भएपछि आयोगले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।


Facebook Comments