विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा
मेयरसाप डेस्क
|
२०८२ मंसिर २५ गते २२:३९
काठमाडौं । लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै दोस्रो संस्करणमा फाइनल यात्रा तय गरेको हो।
अब लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। रोयल्सले पहिलो क्वालिफायरमै विराटनगरलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनल सुनिश्चित गरिसकेको छ।
विराटनगरको कमजोर प्रदर्शन
लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै विराटनगर १७.५ ओभरमै ९४ रनमा समेटियो। टोलीका साम हिजलेटले २८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३४ रनको योगदान दिए। नरेन भट्टले २१ तथा मर्चेन्ट डे लाङले १७ रन जोडे। बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन्।
रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावरप्लेमा नै उत्कृष्ट बलिङ गर्दै लगातार विकेट लिएका कारण विराटनगरको पारी सुरुवातमै कमजोर बन्यो। ६–३ र ३०–४ को अवस्थामा पुगेपछि हिजलेट र डे लाङले २८ रनको साझेदारी गरे पनि त्यो टुटेसँगै विराटनगरको ब्याटिङ पूर्ण रूपमा ढल्यो।
लुम्बिनीका तिलक भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। ट्रम्पलम्यानले ३ ओभरमा ९ रन दिएर २ विकेट, अभिशेष गौतमले ४ ओभरमा २२ रनमै २ विकेट, जेजे स्मिथ र शेर मल्लले पनि दुई–एक विकेट हात पारे।
लुम्बिनीको स्थिर ब्याटिङ
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनायो। ओपनर डार्शी सर्टले ४१ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ४५ रन बनाए। उनले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे। पौडेलले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३४ रन बनाए।
विकेटकिपर निरोशन डिकवेलाले पनि २२ बलमा ४ चौका सहित २९ रनको योगदान दिए। तर सन्दीप जोरा, जेजे स्मिथ र दिलीपन नाथले भने प्रभाव जमाउन सकेनन्।
पहिलो १० ओभरमा ६९/१ रन बनाएको लुम्बिनीले दोस्रो १० ओभरमा भने ६५ रन मात्र जोड्दै ७ विकेट गुमायो, जसले टोलीलाई ठूलो स्कोरबाट रोक्यो।
विराटनगरको बलिङ प्रभावकारी
विराटनगरका बलरहरूले नियमित अन्तरालमा विकेट लिँदै लुम्बिनीको रन गति नियन्त्रण गरेका थिए। सुभाष भण्डारीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। प्रतिश जिसीले ४ ओभरमा २५ रनमा ३ विकेट हात पारे। कप्तान सन्दीप लामिछानेले पनि ४ ओभरमा १८ रन दिएर २ विकेट लिएका थिए।
Facebook Comments