राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस
मेयरसाप डेस्क
|
२०८२ मंसिर २५ गते २२:३४
काठमाडौँ । नेपालका लागि नवनियुक्त पाँच देशका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उज्बेकिस्तान, रोमानिया, ताजिकिस्तान, आइस्ल्यान्ड र क्यूबाका राजदूतहरूले प्रमाणपत्र बुझाएका हुन्। राष्ट्रपतिको कार्यालयका अनुसार प्रमाणपत्र पेस गर्नेहरूमा उज्बेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन्जोदा, आइस्ल्यान्डका राजदूत बेनेडिक्ट हेओस्कुल्द्सन र क्यूबाका राजदूत हुवान कार्लोस मार्सान अगुइलेरा रहेका छन्।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति थियो। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित कूटनीतिक आवासबाट राष्ट्रपति भवनसम्म परम्परागत रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।
Facebook Comments