अलपत्र पुलको काम नसके ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २६ गते ०२:१६
Image of https://mayorsap.com/storage/photos/shares/kulman-and-thekedar.jpg

चन्द्रपुर । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले रौतहटमा निर्माणाधीन तर अलपत्र पुलहरूको अनुगमन गर्दै तोकिएको समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने कडा चेतावनी दिएका छन् ।

मन्त्री घिसिङले चन्द्रपुर नगरपालिका–३ स्थित चाँदीनदीमा रहेको पुलको अनुगमन गर्दै ठेकेदार दयाराम साहलाई तत्काल काम सक्न निर्देशन दिए । ठेकेदार साहले जेठभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

पुल निर्माणका लागि पप्पु शिवशङ्कर जेभीले २०७४ सालमा सम्झौता गरेको थियो, तर, पुल अलपत्र रहँदा गैडाटारवासीले सास्ती खेपिरहेका छन् । मन्त्री घिसिङले विकासको मुख्य आधार पूर्वाधार भएकोले यस्ता निर्माण कार्य रोक्न नहुने धारणा व्यक्त गरे ।

मन्त्री घिसिङले हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जोड्ने गरी दुर्गा भगवती गाउँपालिका–५ बडहर्वास्थित बागमती नदीमा १५ वर्षदेखि अलपत्र रहेको बडहर्वा पुलको पनि अनुगमन गरे । उनले पुल निर्माण हुन नसक्नुको कारणबारे छानबिन गर्ने बताए ।

पूर्वाधार अनुगमनका साथै मन्त्री घिसिङले आज रौतहटको शिवनगरस्थित शिव मन्दिरको अवलोकन गर्नुका साथै चन्द्रपुर–८ मर्धरमा ‘जन्मदिनलाई सतकर्ममा जोडौँ’ अभियानअन्तर्गत वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उदघाटनसमेत गरेका थिए ।


Facebook Comments