श्रीमतीको ह*त्या गरी शव अलैँची बारीमा गाड्ने श्रीमान् पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २८ गते २२:००
Image of https://mayorsap.com/storage/photos/shares/68cfccdb45e79_1.jpg

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकामा कुटपिटपश्चात् श्रीमतीको हत्या गरी शव लुकाएको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पा रहेका छन् ।

प्रेम दोर्ची शेर्पाले मंसिर ९ गते राति आफ्नी श्रीमती ३७ वर्षीया मिना शेर्पा बेपत्ता भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । तर, खोजतलासका क्रममा प्रहरीलाई श्रीमान् प्रेममाथि नै शङ्का लागेर सोधपुछ गर्दा उनले आफैँले हत्या गरेको स्वीकार गरे ।

प्रेमले सो राति ओखरबोटे बजारबाट घर फर्कने क्रममा सामान्य विवादमा कुटपिट गरी श्रीमतीको हत्या गरेको प्रहरीलाई बताए । हत्यापछि उनले मादी नगरपालिका–३ स्थित आफ्नै अलैँची बारीमा शवलाई त्रिपालमा बेरेर गाडेका थिए ।

प्रेमको बयानपश्चात् इलाका प्रहरी कार्यालय चैनपुरको टोलीले लास उत्खनन गर्दा जमिनभित्र सडेगलेको अवस्थामा महिलाको शव फेला पारेको थियो ।

पक्राउ परेका प्रेम दोर्ची शेर्पालाई जिल्ला अदालत चैनपुरबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।


Facebook Comments