संस्कृति जोगाउँदै आत्मनिर्भर बन्दै तानसेनका महिला
रोटी बनाएरै घरखर्च
मेयरसाप डेस्क
|
२०८२ पुष २ गते १९:०८
पाल्पा । पाल्पाको तानसेन नगरपालिकाका महिलाहरू अचेल घरको चुलोचौकोमा मात्र सीमित छैनन् । स्थानीय सरकार र सामाजिक संस्थाहरूको सहयोगमा सीप सिकेर उनीहरू व्यावसायिक आयआर्जनतर्फ आकर्षित भएका छन् ।
आधुनिक ‘फास्टफुड’ संस्कृतिले हराउन लागेका नेवारी समुदायका परम्परागत पाते र लाखामरी जस्ता रोटी बनाउन महिलाहरूले तालिम लिएका छन् ।
तानसेन–२ असनटोलकी मञ्जु बज्राचार्य र पूर्णकला शाक्य जस्ता महिलाहरू जो हिजोसम्म घरखर्चका लागि परिवारको भर पर्थे, अहिले रोटी बेचेरै आत्मनिर्भर बन्न थालेका छन् ।
असनटोल विकास संस्थाकी अध्यक्ष अनुराधा बज्राचार्यका अनुसार यो अभियानले लोपोन्मुख संस्कृति जोगाउनुका साथै महिलालाई आर्थिक रूपमा सबल बनाएको छ ।
वडा नम्बर २ का अध्यक्ष महेश्वर श्रेष्ठले तानसेनको सांस्कृतिक महत्वलाई आधुनिक बजारसँग जोड्न यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।
महिला आत्मनिर्भर हुनु नै समाज र देशको आर्थिक विकासको जग भएको वडाध्यक्ष श्रेष्ठको बुझाइ छ ।
Facebook Comments