जब्दीघाटमा नयाँ पुल बनाउने मन्त्री घिसिङको आश्वासन
मेयरसाप डेस्क
|
२०८२ पुष ३ गते १६:११
काठमाडौं । बर्दियाको जब्दीघाटमा बबई नदीमाथि नयाँ पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले बिहीबार बिहान भत्किएको पुलको स्थलगत अनुगमन गर्दै नयाँ पुल निर्माणको आश्वासन दिएका हुन् ।
मन्त्री घिसिङका अनुसार पुरानो पुलको विषयमा अदालत र अख्तियारमा मुद्दा विचाराधीन रहेकाले त्यसको छानबिनमा ढिलाइ हुने भएपछि नयाँ पुल बनाउने प्रस्ताव स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ ।
अर्थ मन्त्रालयबाट सहमति प्राप्त हुनासाथ तत्काल टेन्डर प्रक्रिया सुरु गरी निर्माण कार्य अघि बढाइने उनले बताए ।
२०७४ सालमा बाढीले भासिएको र २०७९ सालमा पूर्ण रूपमा बगाएको यस पुलको अभावमा बारबर्दियाका बासिन्दा जोखिमपूर्ण डुङ्गा यात्रा गर्न बाध्य छन् ।
अनुगमनकै क्रममा मन्त्री घिसिङले निर्माणाधीन नहर र तटबन्धको समेत निरीक्षण गर्नुका साथै कर्णाली नदीमा झोलुङ्गे पुलको शिलान्यास गरेका हुन् ।
Facebook Comments