सुर्मा गाउँपालिकामा ५ शय्याको अस्पताल शिलान्यास, स्थानीय हर्षित
सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुँदै
डीबी विष्ट
|
२०८२ पुष ३ गते १८:२५
बझाङ । बझाङको सुर्मा गाउँपालिकामा ५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष खडक बहादुर बोहराले उक्त अस्पतालको शिलान्यास गरेका हुन् ।
सामान्य बिरामी हुँदा समेत घण्टौँ लगाएर सदरमुकाम चैनपुर पुग्नुपर्ने र समयमा उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपर्ने सुर्मावासीको वर्षौँदेखिको बाध्यता अब अन्त्य हुने भएको छ । विशेष गरी वृद्ध–वृद्धा, महिला र बालबालिका यसबाट लाभान्वित हुनेछन् ।
स्थानीय स्तरमै सहज, गुणस्तरीय र आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्यका साथ अस्पताल निर्माण अघि बढाइएको गाउँपालिकाकाे भनाइ छ । अस्पताल बनेपछि आकस्मिक सेवा र स्वास्थ्य परीक्षणका लागि बाहिरी जिल्ला जानुपर्ने सास्ती हट्ने वडा नम्बर २ का अध्यक्ष सुरेन्द्र बोहराले बताए ।
झन्डै ९ करोडको लागत अनुमान गरिएको यस अस्पताल निर्माणको जिम्मा अनमोल निर्माण सेवाले भ्याटसहित ६ करोड ६८ लाख २६ हजारमा पाएको छ ।
सम्झौता भएको मितिले २ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कम्पनीका सञ्चालक हेमन्त भण्डारीका अनुसार बजेट निकासामा ढिलाइ भएकाले शिलान्यासमा केही समय लागे पनि अब तीव्र गतिमा काम अघि बढ्नेछ । २०८२ असोज ३० गते कार्यादेश प्राप्त भएसँगै निर्माणले गति लिएको हो ।
गाउँपालिका अध्यक्ष खडक बहादुर बोहराका अनुसार, प्राविधिक समस्या समाधान भइसकेकाले तोकिएको समयमै निर्माण सम्पन्न गरी सेवा सुरु गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ । ग्रामीण भेगका नागरिकको स्वास्थ्यमा पहुँच पुर्याउनु स्थानीय सरकारको मुख्य दायित्व रहेको उनले उल्लेख गरे ।
बझाङका अधिकांश पालिकामा ५ देखि १५ शय्यासम्मका अस्पतालहरू निर्माणाधीन छन् । खप्तडछान्ना गाउँपालिकामा १० शय्याको अस्पताल निर्माण सम्पन्न भई सञ्चालनको पर्खाइमा छ, भने अन्य केही पालिकाहरूले अझै प्रक्रिया अघि बढाउन सकेका छैनन् ।
Facebook Comments