सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यकः मन्त्री भण्डारी
मेयरसाप डेस्क
|
२०८२ पुष ३ गते १८:५८
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित २५औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आप्रवासनको व्यवस्थापन तथा पुनःएकीकरणका विषयमा अन्तरक्रिया कार्यक्रममा उनले नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न सबै तहको सरकार, साझेदार, निकायहरु तथा संघ संस्थाहरुको सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपालमा नै रोजगारीको सम्भावना र अवसरहरुको खोजी गर्दै रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिहरुलाई जोड्नेगरि बजारको माग र अवस्था पहिचान गरेर सोही अनुरुपको सीपयुक्त र दक्ष जनशक्ति निर्माण गर्न सबै तहको सरकार, साझेदार, निकायहरु तथा संघ संस्थाहरुको नियमित प्रयास, समन्वय र सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्न सकेमा मात्र आम नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न सकिन्छ ।’
यस्तै, उनले वैदेशिक रोजगारमा जाने भन्दैमा नागरिकहरु अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम दरमा पठाउन नहुने भन्दै विश्व बजारको माग अनुसारको सिपयुक्त क्षमतावान र दक्ष जनशक्तिहरु पठाउने उपयुक्त वातावरणको निर्माण गर्नुपर्ने सबैको दायित्व भएको बताए ।
उनले भने, ‘अहिले बढ्दै गएको वैदेशिक रोजगारीप्रतिको आकर्षणलाई पूर्ण रुपमा रोक्न पनि नसक्ने र रोक्न पनि नहुने अवस्था रहेको छ । तर हामीले हाम्रो नागरिकलाई न्यून मूल्य र पारिश्रमिकमा अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम दरमा काममा पठाउन कदापी हुँदैन् । विश्व बजारको माग अनुसारको सिपयुक्त क्षमतावान र दक्ष जनशक्तिहरु पठाउने उपयुक्त वातावरणको निर्माण गर्नुपर्ने सबैको दायित्व हो ।’
पुँजीका लागि र श्रम बेच्नको लागि विदेशिनु पर्ने अवस्था एकदमै दुखद रहेको पनि उनको भनाई छ । कार्यक्रममा आइएलओ नेपालका कन्ट्र डाइरेक्टर, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि एवम सरोकारवालाहरुले आफ्नो धारणा राखेका थिए ।
Facebook Comments