बाजुराको धुलाचौर स्वास्थ्य केन्द्रमा खुला आकाशमुनि उपचार

बिरामीलाई चौरमै सुताउनुपर्ने बाध्यता

User Image मेयरसाप डेस्क | २०८२ पुष ४ गते १२:३६
Image of https://mayorsap.com/storage/photos/shares/mahalka-lga-nashalka-savasathaya-shavara.jpeg

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाको धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भवन अभावका कारण बिरामीको स्वास्थ्योपचार खुलाचौरमा हुँदै आएको छ । 

गाउँपालिकाको केन्द्रमा रहेको वडा नं ६ धुलाचौर आधारभूत स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका बिरामीलाई राख्ने कोठा नहुँदा खुलाचौरमा सेवा प्रवाह हुँदै आएको स्वास्थ्य केन्द्रले जनाएको छ । 

चिसो बढेपछि बिरामीको चाप बढ्दै गएकाले उनीहरुलाई राख्ने कोठा नहुँदा स्वास्थ्य केन्द्र बाहिर राखेर उपचार सेवा प्रवाह गर्दै आएको स्वास्थ्य केन्द्रकी सहायक इञ्चार्ज विमला पाण्डेले जानकारी दिए । 

उनले दिएको जानकारीअनुसार स्वास्थ्य सेवा केन्द्र प्रशासनिक र अन्य भिडियो, एक्स–रे सेवा प्रवाह गर्ने प्रयोग गरिएकाले अन्य उपचारका लागि आएका बिरामीलाई कोठाको अभाव छ । 

गाउँपालिकाको केन्द्रमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा दैनिक रुपमा २० बढी बिरामी आउने गरेका छन् । स्वास्थ्य केन्द्रमा ज्वरो, पखाला लाग्ने र अन्य प्रकृतिका बिरामी आउने गरेको सहायक पाण्डेले बताए । 

उनका अनुसार स्वास्थ्य सेवा केन्द्रबाट गर्भवतीको भिडियो जाँच, एक्स–रे, सुरक्षित मातृत्व र जनरल सेवा प्रवाह हुँदै आएकाले बिरामीको चाप दैनिक रुपमा बढ्दै गएको छ । 

स्वास्थ्य सेवा केन्द्रमा एक हप्तादेखि लगातार बिरामीको चाप बढ्न थालेको पाण्डेको भनाइ छ । उपचारमा आएका बिरामीलाई सरकारलेबाट पाइने निःशुल्क औषधि पर्याप्त भए पनि बिरामीको उपचार कक्ष नहुँदा स्वास्थ्य सेवा केन्द्र बाहिरको चौरमा उपचार सेवा दिनुपरेको उनी बताउँछन् । 

गाउँपालिकाले पालिकामा आउने नगारिकको स्वास्थ्य सेवाको उपचारका लागि सञ्चालन गरेको स्वास्थ्य सेवा केन्द्रमा स्थानीयभन्दा बढी छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिकाका स्थानीय बढी सेवा लिन आउने गरेको छन् । 

उक्त गाउँपालिकाले करारका कर्मचारी हटाएपछि उपचारका लागि धुलाचौरमा आउनुपरेको उपचारमा आएका एक बिरामीले आफूलाई गुनासो गरेको स्वास्थ्य केन्द्र सहायक पाण्डेको भनाइ छ । 

गाउँपालिकाको स्वास्थ्य सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण भए पनि हस्तान्तरण नहुँदा जीर्ण रहेको भवनमा सेवा प्रवाह हुँदै आएको छ । भवनको निर्माण भएकाले निर्माण कम्पनीले हस्तान्तरण गर्न ढिलाइ गरेको हिमाली गाउँपालिकाले जनाएको छ ।


Facebook Comments