महानगरले कर्मचारी नपठाएपछि वडाध्यक्ष बने 'डाटा इन्ट्री अपरेटर'
कर्मचारी अभाव टार्न आफैँ राजस्व शाखामा
मेयरसाप डेस्क
|
२०८२ पुष ४ गते १२:३४
पोखरा । पोखरा महानगरपालिका–१२ का वडाध्यक्ष सन्तोष बास्तोला विगत एक महिनादेखि वडाको राजस्व शाखामा बसेर सेवाग्राहीको विवरण कम्प्युटर इन्ट्री गरिरहेका छन् ।
कर्मचारी अभावका कारण सेवाग्राही कर नतिरी फर्किनुपर्ने अवस्था आएपछि उनी आफैँ कार्यकक्ष छोडेर राजस्व संकलनमा खटिएका हुन् ।
वडाको राजस्व शाखामा कार्यरत कर्मचारी हरिकला वाग्ले तालिममा गएपछि महानगरले पठाएका अर्का कर्मचारीले अनुभव नभएको भन्दै काम गर्न अस्वीकार गरेपछि वडाध्यक्ष बास्तोला आफैँले एक घण्टाको तालिम लिएर काम सम्हालेका हुन् ।
पुस मसान्तसम्म करमा छुट हुने भएकाले अहिले चाप बढी छ । वडाध्यक्षको सहयोगपछि दैनिक १०–१२ जना मात्र हुने काम अहिले ३० जनाभन्दा बढी पुगेको लेखा कर्मचारी रीतु अधिकारीले बताइन् ।
कर्मचारी अभावकै कारण सेवा ठप्प हुने स्थिति आएपछि वडाध्यक्ष बास्तोलाले महानगरको नेतृत्वमाथि प्रश्न उठाएका छन् । समयमै जनशक्ति व्यवस्थापन नगरेकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
महानगर प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीका अनुसार, वडाले कर्मचारीलाई तालिममा पठाउनुअघि नै वैकल्पिक व्यवस्था सोच्नुपर्थ्यो । यद्यपि, सरुवा सहमति खुलिसकेकाले अब नयाँ कर्मचारीबाट व्यवस्थापन गरिने उनले बताए ।
Facebook Comments