आफन्त गुमाएका परिवारकाे घरदैलोमै राहत पुर्‍याउँछ लहान नगरपालिका

User Image मेयरसाप डेस्क | २०८२ पुष ४ गते १४:५७
Image of https://mayorsap.com/storage/photos/shares/lahan-nagarpalika2023-07-08-07-07-10.jpeg

सिरहा । लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

नगर प्रमुख महेश चौधरी र वडा नं ५ का अध्यक्ष अब्दुल करिमको उपस्थितिमा मृतक डोमनीदेवीको परिवारलाई एक क्विन्टल चामल, तीन किलोका दरले दाल, नुन, तेल तथा एक थान फाइबर सिरक प्रदान गरिएको हो । साथै घर छाउन आवश्यक जस्तापाता पनि उपलब्ध गराइने प्रतिबद्धता नगर प्रमुख चौधरीले व्यक्त गरे ।

राहत हस्तान्तरणका क्रममा नगर प्रमुख चौधरीले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै भने, “नगरपालिकाले गरिब, विपन्न, दलित तथा मुसहर समुदायका नागरिकको दुःखमा साथ दिन प्रतिबद्ध छ, यस्ता परिवारका सदस्यको मृत्यु भएपछि राहत सामग्रीका साथै मुसहर परिवारको हकमा काजकिरिया गर्न थप रु पाँच हजार आर्थिक सहयोगसमेत गर्दै आएका छौँ ।”

वडाध्यक्ष करिमले मानवीय संवेदनाका आधारमा नगरपालिकाले सहयोग गर्दै आएको बताउँदै भने, “डोमनीदेवीको असामयिक निधनले परिवार ठूलो सङ्कटमा परेको छ, वडाकोतर्फबाट पनि आवश्यक सहजीकरण र सहयोग निरन्तर रहनेछ ।”

मृतक डोमनीदेवीका पाँच छोरी र एक छोरा छन् । उनका पति गुदर मोची जुत्ताचप्पल सिलाइ गरेर परिवारको गुजारा चलाउँदै आएका छन् । आर्थिक अवस्था कमजोर रहेकाले नगरपालिकाबाट प्राप्त सहयोगले केही राहत मिलेको डोमनीका पति गुदरले बताए । “यस्तो पीडाका बेला नगरपालिकाले सहयोग गरेकामा हामी आभारी छौँ, यसले परिवारलाई ठूलो सहारा मिलेको छ”, उनले भने ।


Facebook Comments