चिचिला गाउँपालिकामा नवनिर्मित विद्यालय भवन उद्घाटन
मेयरसाप डेस्क
|
२०८२ पुष ४ गते १३:४७
खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिका–३ दिदिङस्थित दिदिङ आधारभूत विद्यालयको नवनिर्मित भवन बिहीबार एक विशेष समारोहका बिच उद्घाटन गरिएको छ । भारत सरकारको ८० प्रतिशत र चिचिला गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमा सो भवन निर्माण भएको हो ।
गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव बशिष्ट नन्दनले भवनको उद्घाटन गरे । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य र प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको पनि उपस्थिति थियो ।
प्रथम सचिव नन्दनका अनुसार, भारतले नेपालको प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य र विद्युतीकरणमा सहयोग गर्दै आएको छ । हालसम्म संखुवासभालाई १५ एम्बुलेन्स र ५ स्कुल बस उपलब्ध गराइएको उनले जानकारी दिए ।
जिसस प्रमुख सुमन शाक्यले अरुण तेस्रो जस्ता आयोजनामा देखिने विवादलाई छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए । गाउँपालिका अध्यक्ष शेर्पाले यो सहयोगले दुई देशको प्रगाढ सम्बन्ध प्रष्ट पारेको बताउँदै आगामी दिनमा सरस्वती माविको भवन निर्माणमा पनि सहयोगको अपेक्षा राखे ।
भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने रत्नबहादुर राई, ठगबहादुर राई, स्वर्गीय गजेन्द्र कुमार राईलगायतका जग्गादाताहरूलाई सम्मान गरियो । साथै, समय अगावै काम सम्पन्न गर्ने निर्माण कम्पनी ’अमर डिएस बिल्डर्स जेभी’लाई पनि सम्मानित गरियो ।
Facebook Comments