सिलगढीमा निर्माणाधीन अस्पताल अलपत्र, ठेकेदार सम्पर्कविहीन

१४ महिनासम्म ३२ प्रतिशत काम

User Image मेयरसाप डेस्क | २०८२ पुष ४ गते १४:५९
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design_2.png

डोटी । दिपायल सिलगढी नगरपालिका–२ मा निर्माण भइरहेको अस्पतालको काममा चरम ढिलासुस्ती हुँदा आयोजना अलपत्र परेको छ । सम्झौता अवधि सकिएको १४ महिना बितिसक्दा पनि निर्माण कार्यले गति लिन सकेको छैन ।

इन्द्रायणी बिल्डर्स एण्ड सप्लायर्सले २०८० असोज ३० मा १ करोड ११ लाख ८९ हजार रुपैयाँमा निर्माणको ठेक्का लिएको थियो । सम्झौताअनुसार २०८१ चैत ३० भित्र काम सकिनुपर्ने थियो ।

नगरपालिकाका इन्जिनियर शिवबहादुर माझीका अनुसा,र हालसम्म ३२ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । निर्माण कम्पनीले अहिलेसम्म ३६ लाख ८ हजार रुपैयाँ भुक्तानी लगिसकेको छ ।

पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीका सञ्चालक अशोक गैरे सम्पर्कमा नआएपछि नगरपालिकाले ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

अस्पताल नहुँदा स्थानीय ३६ हजार नागरिक सामान्य उपचारका लागि पनि धनगढी वा नेपालगन्ज धाउन बाध्य छन् । उपचार खर्चभन्दा बढी यात्रा र बसाइमा खर्च हुने गरेको स्थानीय सन्तोष नेपालीको गुनासो छ ।

यो अस्पताल बनेमा जिल्ला सदरमुकाम आसपासका बासिन्दाले प्रत्यक्ष स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।


Facebook Comments