दलित र विपन्नका लागि बनाइएका घरहरू प्रयोगविहीन

सरकारी लगानी बालुवामा पानी

User Image मेयरसाप डेस्क | २०८२ पुष ४ गते १५:०२
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design-1_2.png

उदयपुर । सरकारले दलित, विपन्न र सीमान्तकृत समुदायका लागि आवास सुनिश्चित गर्न ल्याएको ‘जनता आवास कार्यक्रम’ उदयपुरमा प्रभावहीन देखिएको छ ।

सरकारले घर बनाइदिए पनि रोजगारी र जीविकोपार्जनको विकल्प नहुँदा लाभग्राहीहरू गाउँ छोडेर सहर र विदेश पलायन भएपछि निर्मित घरहरू प्रयोगविहीन भएका हुन् ।

ताप्ली र रौतामाई गाउँपालिकाका विभिन्न टोलमा प्रतिघर ३ लाख ५० हजारका दरले निर्माण गरिएका २ कोठे जस्तापाताका घरहरू अहिले मानिस नबस्दा जीर्ण र भत्किने अवस्थामा पुगेका छन् ।

गाउँमा खेतीपातीले वर्षभरि खान नपुग्ने र बाँदर आतङ्कका कारण बालीनाली सखाप हुने भएपछि ईश्वर मग्राती, पृतम सुर्खेती र मीनबहादुर विश्वकर्मा जस्ता लाभग्राहीहरू परिवारसहित काठमाडौं, पोखरा र भारततिर ज्याला मजदुरीका लागि पलायन भएका छन् ।

उदयपुरमा हालसम्म १ हजार २ सय ३१ घर निर्माण भएका छन् । तर, जेन्जी प्रदर्शनका क्रममा सहरी विकास तथा भवन कार्यालय विराटनगरमा भएको आगजनीका कारण धेरै महत्त्वपूर्ण कागजात र तथ्याङ्कहरू नष्ट भएका छन् ।

घर निर्माण र अन्तिम किस्ता भुक्तानीपछि ती घरहरूको प्रयोग र अवस्थाबारे अनुगमन गर्ने कुनै संयन्त्र नभएको कार्यालय प्रमुख सुरेन्द्रप्रसाद शाहले स्वीकार गरेका छन् ।

तराई–मधेसको तुलनामा पहाडी क्षेत्रमा निर्माण गरिएका घरहरू प्रयोगविहीन भएको गुनासो बढी आउने गरेको कार्यालयको भनाइ छ ।


Facebook Comments