तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै बाजुराका पाध्याय

User Image गोविन्द तिमिल्सेना | २०८२ पुष ६ गते १२:१८
Image of https://mayorsap.com/storage/photos/shares/tarkari_1.jpg

बाजुरा । देशमा रोजगारीका अवसर छैनन् भनेर मानिसहरू विदेशिन्छन् । तर केही गरौं भन्ने हुटहुटी र साहस गर्नेलाई गाउँकै माटोमा अथाह सम्भावना छन्। कर्मशील व्यक्तिले गाउँकै माटोमा सुन फलाएका छन्। कडा परिश्रम गरेर कृषि कर्मबाटै आफ्नो परिचय दिन सफल भएका उदाहरण धेरै छन्। सोही मध्येका एक हुन् बाजुराका तरकारी व्यवसायी महाँचन्द्र पाध्याय। कुनै समय कामको लागि भारत पुगेर जिविका चलाउँदै आएका बाजुराको बडीमालिका नगरपालिका–७ का महाँचन्द्र पाध्याय यतीवेला तरकारी खेतीमा रमाइरहेका छन् ।

उमेरले करिब ५० कटेका पाध्यायको जोस, जाँगर र तरकारी खेती प्रतिको हुटहुटी लोभलाग्दो छ। अनेकौं कठिनाइ र भोगाई भोग्दै पाध्यायले अहिले गाउँमै व्यवसायिक रुपमा तरकारी खेती गरेका छन्। अहिले उनी तरकारी खेतीबाटै स्वरोजगार बनेका छन्। उनले विसं २०७७ बाट व्यवसायीक रुपमा तरकारी व्यवसायको थालनी गरेका हुन्। त्यो भन्दा पहिले फाट्टफुट्ट रुपमा तरकारी लगाउँदै आएका थिए।  

२०७८ सालमा उनले कृषि ज्ञान केन्द्र बाजुराको ५० प्रतिशत अनुदान र आफ्नो ५० प्रतिशत लगानी गरेर करिब एक लाख बराबरको प्लास्टिक टनेल निर्माण गरी व्यवसायीक तरकारी खेती सुरु गरेका हुन्। अहिले त्यही प्लाष्टिक टनेलबाट तरकारी खेती गरेर उनी यतिबेला जिल्लाकै सफल किसानका रुपमा परिचित छन् । उनले करिब २० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् ।

उनको फार्ममा करेला, घिरौँला, लौका, फर्सी, बोडी, सिमी भेन्टा, धनियाँसमेत उत्पादन हुने गरेको छ । बजारमा करेला र घिरौँला प्रतिकिलो रु १२०, लौका ७०, काँक्रो ५० मा बिक्री हुने गरेको उनले बताए । 

“तरकारी खेतीबाट राम्रो सफलता मिलेको छ, खेतभरि हरियाली फलेका तरकारी देख्दा मन आनन्दित हुन्छ, तरकारी बेचेर दाम बुझ्दा एकछिन खाली बस्नै मन लाग्दैन, आफ्नै माटोमा कृषिबाट राम्रै कमाउन सकिने रहेछ”,उनले भने,“हिउँदे र बर्खेयाम अनुसारको तरकारी खेती गर्दै दिनहरू बितिरहेका छन्।”

उनको देखासिकी गरी गाउँका अन्य व्यक्ति पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन् । परदेशमा अरूको दवाव सहेर काम गर्नु भन्दा स्वदेशमै बसेर आफ्नै गाउँमा कर्म गर्नु उचित रहेको उनको भनाइ छ।

उनकै उमेरका अधिकांश दौँतरीहरु पैसा कमाउन विदेश पलायन भए पनि पाध्याय भने तरकारी खेतीमै सक्रिय छन् । तरकारीखेतीबाट नाम र दाम दुवै कमाउन थालेपछि उनले अहिले ज्यालादारी र कामको लागी भारत जाने योजना कहिल्यै नबनाएको उनले सुनाए ।

उनले भने, “तरकारी खेतीबाट घरखर्च चलाउन पुगेको छ । बजार लगेर बिक्री गर्न पनि भ्याईएको छ। गाउँमै कर्म गर्ने हुटहुटीले बाहिर जाने योजना कहिल्यै आएन ”।व्यवसायीक रुपमा तरकारी खेतीतर्फ लागेको चार पाँच वर्षभित्र राम्रो आम्दानी हुनुका साथै पेशा,व्यवसायबाट आफू निकै सन्तुष्ट रहेको पाध्यायले बताए ।

तरकारी बिक्री गरेर सामान्य रुपमा वार्षिक डेढ लाखसम्म आम्दानी हुने गरेको उनको भनाई छ। आम्दानी भन्दा पनि आफूलाई ताजा तरकारी खान र व्यवसायीक बन्न सहज भईरहेको उनले थपे। तरकारी खेतीबाट नाम र सामान्य रुपमा दाम हुन थालेपछि आफूलाई पेसाप्रति थप हौसला थपिएको बताउँदै उनले तरकारी खेतीबाटै परिवारको खर्च र बालबच्चाको पालन पोषण भइरहेको बताए ।

आगामी दिनमा पेशा व्यवसायलाई थप बढावा दिने उनको भनाई छ। व्यक्ति कर्मशील हुन जरुरी रहेको कुरामा पाध्यायले जोड दिए। उनले भने, “व्यक्ति कर्मशील र लगनशील भए हरेक चिज गाउँमै सम्भव हुने रहेछ। हामी गाउँमा रोजगारीका अवसर छैन भन्छौँ । तर आफ्नै गाउँको माटोमा पसिना बगाए सुन समेत फलाउन सकिने रहेछ ।” पाध्यायले टनेलमा मौसम अनुसारका तरकारी फलाउने गरेका छन्। 

टनेलभित्र टमाटर, काँक्रो, काउली, बन्दा, रायो, डल्ले खुर्सानी, गाजर लगायत तरकारी उत्पादन गर्ने गरेका छन् । उनले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारीखेती समेत गरिरहेका छन् । यसका अलवा उनले सुन्तला, किवी, मौसमी, दाँते ओखर लगायतका फलफूलको खेतीसमेत गरेका छन्।

 


Facebook Comments