भ्रष्टाचार रोक्न योग र ध्यान प्रभावकारी औषधि हाे : मन्त्री पुन
मेयरसाप डेस्क
|
२०८२ पुष ६ गते १३:५२
काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समाजमा व्याप्त भ्रष्टाचार र लोभ–लालसा अन्त्यका लागि योग र ध्यानलाई गाउँ–गाउँसम्म फैलाउनुपर्ने बताएका छन् ।
विश्व ध्यान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मनको शुद्धीकरण नै सुशासनको आधार भएको उल्लेख गरेका हुन् ।
मन्त्री पुनका अनुसार, भ्रष्टाचार हटाउने कुनै भौतिक औषधि नभए पनि योग र ध्यानले मन शुद्ध पारेर लोभ, लालसा र घमण्ड हटाउन सहयोग गर्छ । भ्रष्टाचारीको मन अशुद्ध हुने भएकाले यसलाई बदल्न आध्यात्मिक चेतना आवश्यक रहेको उनको तर्क छ ।
योग पढाउने नभई गराउने विषय भएकाले विद्यालयहरूमा शुक्रबारको दिन अतिरिक्त क्रियाकलापमार्फत योग र ध्यान सञ्चालन गर्न निर्देशन दिइसकेको उनले जानकारी दिए ।
योग र ध्यानलाई केवल व्यक्तिगत अभ्यासमा सीमित नगरी टोल–टोल र गाउँ–गाउँसम्म पुर्याउन उनले सबैलाई आग्रह पनि गरे ।
मन्त्री पुनले ध्यान र योगको मूल उद्देश्य नै मनलाई शान्त र शुद्ध बनाउनु रहेको र यसले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
Facebook Comments