नगरपालिकाले करारका कर्मचारी हटाएपछि स्वास्थ्य सेवा ठप्प

१२ स्वास्थ्य संस्थामा ताला

User Image मेयरसाप डेस्क | २०८२ पुष ६ गते १४:०३
Image of https://mayorsap.com/storage/photos/shares/panchapuri.jpg

सुर्खेत । पञ्चपुरी नगरपालिकाले ठुलो सङ्ख्यामा करारका कर्मचारी हटाएपछि यहाँका १२ वटा स्वास्थ्य सेवा केन्द्रहरू पूर्ण रूपमा बन्द भएका छन् ।

स्वास्थ्य संस्था बन्द हुँदा गाउँका नागरिकहरू सामान्य उपचार र सिटामोलका लागि समेत घण्टौँ हिँडेर अस्पताल धाउन बाध्य भएका छन् ।

नगरपालिकाले चालू आर्थिक वर्षको साउन १ गतेदेखि एकै पटक १२८ जना करारका कर्मचारी हटाएको छ । जसमा ४१ जना स्वास्थ्यकर्मी, ७४ जना शिक्षक र १३ जना प्रशासनिक कर्मचारी रहेका छन् ।

करारका स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भइरहेका ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाईहरू बन्द भएका हुन् ।

वडा नं. १, ३, ४, ६, ८ र १० मा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरू तथा वडा नं. ६, ७, ८, ९ र १० मा सञ्चालित सामुदायिक स्वास्थ्य इकाईहरूमा ताला लागेको छ ।

गाउँका स्वास्थ्य संस्था बन्द भएपछि स्थानीयहरू ३ देखि ४ घण्टाको पैदल दूरी तय गरी साल्कोट अस्पताल पुग्न विवश छन् ।

वडा नं. १ का स्थानीय धर्मजीत थापाका अनुसार घरआँगनमै पाउने सामान्य सेवाका लागि पनि अहिले सिङ्गो दिन खर्चनुपर्ने अवस्था आएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले जनशक्ति अभावका कारण १२ वटा स्वास्थ्य संस्था बन्द भएको पुष्टि गरेका छन् ।


Facebook Comments