बंगलादेशमा हिन्दुमाथि भएको हिं*साको विरोधमा सिरहामा प्रदर्शन

टायर बालेर राजमार्ग अवरुद्ध

User Image मेयरसाप डेस्क | २०८२ पुष ६ गते १६:३८
Image of https://mayorsap.com/storage/photos/shares/photo-5-563c9724.jpeg

सिरहा । बंगलादेशमा हिन्दु धर्मावलम्बी दिपुचन्द्र दासको हत्या र अल्पसंख्यक समुदायमाथि भइरहेको निरन्तर हिंसाको विरोधमा सिरहामा आइतबार उग्र प्रदर्शन भएको छ । घटनाको विरोध गर्दै सिरहाका हिन्दु धर्मावलम्बीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

बंगलादेशमा दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको विरोधमा स्थानीय सडकमा उत्रिएका हुन् । बंगलादेशमा भइरहेको अल्पसंख्यक हिन्दु लक्षित हिंसा बन्द गर्न उनीहरूले माग गरेका छन् ।

प्रदर्शनकारीहरूले चोहर्वास्थित गणपति पेट्रोल पम्प अगाडि टायर बालेर सडक अवरुद्ध गरेका थिए । जसका कारण पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधनहरू बीचैमा रोकिएका छन् र यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।

प्रदर्शनकारीहरूले बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गर्न, हिंसामा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्न र अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन जोडदार माग गरेका छन् ।

स्थिति नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले प्रदर्शनकारीहरूसँग वार्ता गरी अवरुद्ध राजमार्ग खुलाउने र अवस्था सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिए ।


Facebook Comments