नाबालिगकाे नग्न भिडियो आफन्तलाई पठाउने युवक पक्राउ
मेयरसाप डेस्क
|
२०८२ पुष ६ गते १९:५८
काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिगको चरित्र हत्या गरेको आरोपमा कैलालीका एक युवकलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । धनगढी–१२ का २७ वर्षीय सन्दीप चन्दलाई प्राविधिक विश्लेषणका आधारमा पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
चन्दले नाबालिगलाई प्रलोभन र दबाबमा पारेर नग्न तस्बिर तथा भिडियोहरू पठाउन लगाएका थिए । पछि थप अश्लील गतिविधि गर्न नमानेपछि उनले ती तस्बिर र भिडियोहरू पीडितका विद्यालयका साथी र आफन्तलाई पठाई चरित्र हत्या गरेको पाइएको छ ।
साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार, पीडितको उजुरी र प्राविधिक प्रमाणका आधारमा चन्दलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको हो ।
जिल्ला अदालतले चन्दमाथि थप अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्ने अनुमति दिएको छ । उनीमाथि विद्युतीय (साइबर) कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
Facebook Comments