के–के गरे सञ्चारमन्त्री खरेलले तीन महिनामा ?

User Image मेयरसाप डेस्क | २०८२ पुष ६ गते २०:४९
Image of https://mayorsap.com/storage/photos/shares/jagadish-kharel-2.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक, मुद्रण र चलचित्र क्षेत्रसम्म महत्वपूर्ण काम सम्पन्न गरेको बताएका छन् । उनले गत असोज ६ गते सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले मन्त्रीको रुपमा पदबहाली गरेपछि तीन महिनामा सम्पन्न भएका ३० वटा उपलब्धि सार्वजनिक गरे । धेरै चुनौतीका बीच उल्लेखनीय काम गर्न सफल भएको उनकाे भनाई थियाे ।

“धेरै चुनौतीका बीच यति मुख्य उपलब्धि हासिल भएका छन् । आगामी दिनमा इमान्दारिकताका साथ काम गरिन्छ,” उनले भने ।

'तीन महिनाको अवधिमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन माध्यमबाट सञ्चारमाध्यम दर्ता तथा नवीकरणको व्यवस्था गरिएको छ । सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम अघि बढाइएको छ भने दुर्गम क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार गरिएको छ । सगरमाथाको आधार शिविर (एभरेष्ट बेस क्याम्प) मा ‘फोरजी’ सेवा विस्तार हुनु पनि यही अवधिको उपलब्धि हो,' मन्त्री खरेलले दावी गरे ।

आमसञ्चार क्षेत्रमा एनटिभी वल्र्डको शुभारम्भ, पत्रकार सुरेश रजकलाई सहिद घोषणा, गोरखापत्रमा कुलुङ भाषा थप गरी ४६ भाषामा समाचार तथा रेखाचित्र प्रकाशन गरिएको जानकारी मन्त्री खरेलले दिए ।

दूरसञ्चारतर्फ काठमाडौँ उपत्यकाका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट जडान गरिएको र उपत्यका बाहिर २९ स्थानमा वाइफाइ जडानका लागि प्रक्रिया अघि बढाइएको विषय पनि खरेलले उपलब्धिमा समेटेका छन् । सुदूरपश्चिम प्रदेशमा १५ वटा वायरलेस साइट जडान, नेपाल टेलिकमका सक्रिय ग्राहक संख्या दुई लाखले वृद्धि, जेनजी डाटा प्याक कार्यान्वयन र एभरेष्ट बेस क्याम्पमा फोरजी सेवा विस्तारजस्ता काम सम्पन्न भएको खरेलले जानकारी दिए ।

यसका साथै जेनजी आन्दोलनमा घाइते पत्रकारलाई सम्मान, आन्दोलनबाट भएको क्षतिको विवरण तयार, सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने काम पनि उनले उपलब्धिका रुपमा प्रस्तुत गरे ।

 


Facebook Comments