एमसिए–नेपालद्वारा दुई वटा सडक आयोजनाको सम्झौतामा हस्ताक्षर
मेयरसाप डेस्क
|
२०८२ पुष ७ गते १८:१५
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने दुईवटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ ।
एमसिए–नेपालले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो ।
यसैगरी एमसिए–नेपालले हालै उक्त सडकखण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिङ सडकखण्डको आवधिक मर्मतको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६ दशमलव छ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको विज्ञप्तिमा उल्लेख छ। यी आयोजनाअन्तर्गत पूर्व-पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडकखण्डमा स्तरोन्नति गरी १२ मिटर चौडा गरिनेछ भने नारायणघाट–मुग्लिङ सडकखण्डको आवधिक मर्मत गरिनेछ ।
आज एक कार्यक्रमबीच एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र शर्मा–कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धान खोलाबाट लमहीसम्मको सडकखण्डको स्तरोन्नति कार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।
Facebook Comments