समीपुरका विद्यार्थीले विद्यालयमै बनाए सेलरोटीदेखि साबुनसम्म

किताबी ज्ञानसँगै सीप प्रदर्शन

User Image मेयरसाप डेस्क | २०८२ पुष ९ गते १०:२०
Image of https://mayorsap.com/storage/photos/shares/kalika-nagar.jpg

चितवन । कालिका नगरपालिका–१, सूर्यपुरस्थित शमीपुर राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीले आफ्नो सीप र क्षमताको प्रदर्शन गरेका छन् ।

विद्यालयको वार्षिकोत्सवको पूर्व सन्ध्यामा सोमबार आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूले विभिन्न खाद्यान्नका परिकार बनाएर ‘फुड फेस्टिभल’का साथै विज्ञान प्रदर्शनी गरेका हुन् ।

विद्यार्थीहरूले आफैँ लगानी गरेर सेलरोटी, मोमो, पकौडा र अचार जस्ता परिकार बनाई बिक्री गरेका थिए । अभिभावक र अन्य विद्यार्थीको भिडका कारण परिकारहरू अपुग समेत भएका थिए ।

‘ग्रिन आर्मी’मा आबद्ध विद्यार्थीहरूले फूल र जडीबुटी (नीम, तीतेपाती) प्रयोग गरी आयुर्वेदिक साबुन र हर्पिक निर्माण गरी प्रदर्शनीमा राखेका थिए ।

प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीका अनुसार कोठाभित्रको पढाइलाई व्यवहारमा उतार्न र विद्यार्थीलाई आत्मनिर्भर बनाउन यो अभ्यास गराइएको हो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले सिद्धि छात्रावासलाई २५ हजार बराबरको खाद्यान्न समेत सहयोग गरेको छ ।

वडा अध्यक्ष सन्तवीर स्याङ्तान र विव्यस अध्यक्ष सोमबहादुर खड्काले विद्यार्थीको यस्तो सक्रियताले उनीहरूको बौद्धिक र व्यावहारिक क्षमता विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।


Facebook Comments