भोजपुरमा आयुर्वेदिक उपचारप्रति बढ्दो आकर्षण

User Image मेयरसाप डेस्क | २०८२ पुष ९ गते १३:१५
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-1.jpg

भोजपुर । भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका हुन् ।

पहिले आयुर्वेदिक उपचारप्रति कम चासो राख्नेहरु पनि पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरमा उपचारका लागि आउने बिरामीको चाप उल्लेखनीय रूपमा बढेको बताए । केन्द्रका अनुसार हाल दैनिक रूपमा १०० जनासम्म बिरामी सेवा लिन आउने गरेका छन् ।

केन्द्रमा पेट, अल्सर, नसा च्यापिएको, पायल्स, ढाड दुख्ने समस्या, जन्डिस, ग्यास्ट्रिक, दम–खोकी, हाडजोर्नी तथा महिनावारी, पिनास, रोगका बिरामी सङ्ख्या बढी आउने कार्यालय प्रमुख नुतन महतोले जानकारी दिए । विभिन्न विधिबाट स्वास्थ्यकर्मीले प्रभावकारी सेवा दिन थालेपछि आयुर्वेदिक उपचारप्रति बिरामीको विश्वास बढेको केन्द्रको भनाइ छ ।

बिरामीको सुविधालाई ध्यानमा राख्दै केन्द्रमा विभिन्न आधुनिक स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ । रोगको प्रकृतिअनुसार आयुर्वेदिक औषधिसँगै उपकरणको सहायताबाट उपचार पद्धति अपनाइँदै आएको कार्यालयले जनाएको छ ।

लामो समयसम्म एलोपेथिक उपचार गर्दा पनि रोग निको नभएका बिरामी आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय केशरबहादुर श्रेष्ठले लामो समयसम्म ढाडको समस्याबाट पीडित भए पनि आयुर्वेदिक उपचारपछि स्वास्थ्यमा सुधार आएको अनुभव सुनाए ।

विसं २०५८ देखि जिल्लामा आयुर्वेदिक जडीबुटीबाट मिश्रित औषधि तथा चूर्ण वितरण सुरु गरिएको थियो । हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरसहित टक्सार, दिङ्ला र ओख्रे औषधालय शाखा सञ्चालनमा छन् ।

साथै अरुण गाउँपालिका चम्पे, हतुवागढीको घोडेटार, टेम्केमैयुङको अन्नपूर्ण र पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्रबाट स्थानीयले सेवा लिइरहेका छन् ।


Facebook Comments