थानीमाई मन्दिरमा नयाँ भवन र ट्रस निर्माण
मेयरसाप डेस्क
|
२०८२ पुष ९ गते १३:५०
दमौली । जिल्लाको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर आउने भक्तजनको सहजताका लागि भवन र ट्रस निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र मन्दिर व्यवस्थापन समितिको आन्तरिक कोषबाट भक्तजनको सहजताका लागि यहाँ भवन र ट्रस निर्माण गरिएको हो ।
गण्डकी प्रदेश सरकारको २० लाखमा ट्रस निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए । त्यस्तै कोषबाट २८ लाखको लागतमा बनेको भवनमाथि ट्रस थप रिएको उनले बताए । उनका अनुसार ट्रस निर्माणसँगै मन्दिरमा रातभर जाग्राम बसेर बत्ती बाल्ने भक्तजनलाई सहज हुनेछ ।
समितिका अध्यक्ष थापाले भने, “मङ्गलबार फूलको डोली चढाउने र त्यसको अघिल्लो रात सोमबार यहाँ जाग्राम बसेर बत्ती बाल्ने प्रचलन छ । रातिको समयमा बस्न सहज होस् भनेर ट्रस हालेका छौँ । अब एकैपटक २०० भन्दा बढी भक्तजनले यहाँ बसेर बत्ती बाल्न सक्नेछन् ।”
आठ कोठे भवनको ६ वटा कोठामा समितिको निर्णयअनुसार सहुलियत दरमा रातिका लागि वा अन्य समयमा बास बस्न चाहनेलाई उपलब्ध गराइने थापाले जानकारी दिए ।
मन्दिरमा प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने परम्पर छ । “ती महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ”, समितिका अध्यक्ष थापाले भने ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित ६ लाख गरी २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको हो ।
Facebook Comments