पूर्व प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
ठेक्काको सूचना लुकाएर अनियमितता
मेयरसाप डेस्क
|
२०८२ पुष ९ गते १४:०१
काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकामा सडक मर्मतको ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०८०–८१ मा बैरिया प्रवेशद्वारदेखि नगरदाहाँसम्मको सडक कालोपत्रे गर्ने ठेक्कामा मिलेमतो गरी सार्वजनिक सूचना लुकाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । मुद्दा दायर गरिएकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सह–लेखापाल उपेन्द्र कुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक सञ्जय कुमार साह रहेका छन् ।
उनीहरूले सार्वजनिक खरिद ऐनविपरीत बोलपत्रको सूचना सर्वसाधारण र अन्य व्यवसायीले थाहा नपाउने गरी लुकाएका थिए । सेटिङका लागि मात्र पत्रिकाको एउटा प्रति छापेर सूचना प्रकाशित भएको देखाइएको थियो, तर प्रेस काउन्सिलको अभिलेखमा सो मितिको पत्रिकामा कुनै सूचना नभेटिएपछि किर्ते कामको खुलासा भएको हो ।
सूचना नै प्रकाशन नगरी विज्ञापन छापिएको झुट्टा बिल बनाएर नगरपालिकाबाट ६५ हजार रुपैयाँ भुक्तानी समेत लिइएको पाइएको छ । सरकारी सम्पत्ति हानिनोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय र जरिवानाको मागदाबी गरेको छ ।
Facebook Comments